रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘खराब मौसम’ र ‘असन्तुलन’

0

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम र हेलिकप्टरमा असन्तुलन रहेको छानबिन समितिको प्रतिवेदनले जनाएको छ ।मन्त्रीसहित ७ जनाको ज्यान जानेगरी भएको सो ‘भिआइपी’ दुर्घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रकाशित गरेको छ ।

दुर्घटनाग्रस्त स्थल

प्रतिवेदनका अनुसार एयर डाइनेस्टीको सो हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसममा पाइलटले सन्तुलन कायम नसक्नु रहेकाे देखिन्छ । पाथिभराको मन्दिर रहेको डाँडामा करिब ४५ मिनेट रोकिएको सो हेलिकप्टर खराब मौसमकै कारण हतारमै ‘टेकअफ’ गर्दा दुर्घटना भएको हुनसक्ने प्रतिवेदनको निष्कर्ष छ । हिउँ परिरहेको चिसो मौसममा इन्जिन स्टार्ट भएको एक मिनेटभित्रै हेलिकप्टर उडाइएको थियो, जबकि इन्जिन स्टार्ट भएको केहीवेरपछि मात्र उडानुपर्ने हुन्छ । उड्नासाथ शक्तिशाली हावा समेत चलेका कारण हेलिकप्टरले नियन्त्रण गुमाउन पुगेको प्रतिवेदनले देखाएको छ ।

हिमपात भइरहेको खराब मौसम र हाइ अल्टिच्यूडमा पाइलटले हतारमै उडाउँदा शक्तिशाली हावासँग जुधेको प्रतिवेदनमा उल्लेख छ । यस अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाएर नियन्त्रण कायम राख्न नसक्दा दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

दुर्घटनामा परेकाे एयर डानेस्टीकाे हेलिकप्टर

दुर्घटनामा पाइलटले जानाजान गल्ती गरेको कुनै तथ्य फेला नपरेको प्रतिवेदनले जनाएको छ । तर हाइअल्टिच्युडमा हेलिकप्टरको लोड पनि अधिक भएका कारण समेत समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । प्रतिवेदनका अनुसार हेलिकप्टरमा ७ जना सवार थिए, जबकि सो हेलिकप्टरको स्टाण्डर्ड क्षमता कुल ६ जना मानिन्छ । अगाडिको सिटमा पाइलट र २ जना यात्रु गरी ३ जना बसेका थिए । पछाडि चार जना बसेका थिए ।

अगाडि बढी लोड पर्न गएर हेलिकप्टरले सन्तुलन गुमाएको हुनसक्ने देखिन्छ । किनभने इन्धन बोक्ने ट्यांकी पछाडि हुने र लामो समय हेलिकप्टर उडिसक्दा इन्धन खपत भएर पछाडिको लोड कम हुने तर अगाडि बढी तौलका ३ जना परेमा त्यसले सन्तुलन गुमाउन सक्ने देखिन्छ । यद्यपि अगाडिको सिटमा पाइलटबाहेक अरु दुईजना को बसेका थिए भन्नेचाहिँ प्रतिवेदनले खुलाउन सकेको छैन ।

पाथिभरामा हेलिकप्टर र तत्कालीन माैसम

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्टको भिजिबिलिटी पनि कम भएका कारण सो विमानस्थलको टावर बन्द भएको प्रतिवेदनले देखाएको छ । सोही कारण उडिसकेको हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने र सोका लागि हेलिकप्टरले एक चक्कर लाउन खोजेको देखिन्छ । पाथिभरामा पुनः बस्न नपाउँदै सो क्षेत्रभन्दा ३७० मिटरको दुरीमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको देखिन्छ । पाथिभराबाट उडेको ३५ सेकेन्डमै हेलिकप्टर दुर्घटनामा परेको प्रतिवेदनको निष्कर्ष छ ।

भीआईपी उडानको कुनै निश्चित प्रक्रिया र मापदण्ड सेवाप्रदायक कम्पनीका तर्फबाट नहुनु र आफूखुसी उडान गर्ने प्रवृत्ति हाबी हुनका कारण पनि सो दुर्घटना भएको प्रतिवेदनको ठहर छ । किनभने तेह्रथुम जाने मात्र कार्यक्रम रहेकाेमा अचानक पाथिभरा जाने मनसाय यसैकाे उपज हाे ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्नका लागि तत्कालीन मन्त्री अधिकारीकाे टाेली गत साल फागुन १५ गते काठमाडाैँबाट उडेकाे थियाे । तर तेह्रथुमकाे कार्यक्रम सकेर अचानक पाथिभरा जाने निर्णय भएकाे थियाे, जसकाे जानकारी काठमाडाैँ टावरलाइ समेत दिइएकाे थिएन ।

दुर्घटनाग्रस्त हेलिकप्टरका अवशेष

पाथीभराबाट फर्किने क्रममा ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनाग्रस्त भयाे । जसमा मन्त्री अधिकारीका अतिरिक्त हेलिकप्टरका मालिक रहेका यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे गरी ७ जनाकै ज्यान गएकाे थियाे । साे दुर्घटना छानबिनका लागि मन्त्रालयले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । जसमा दीपक प्रसाद बाँस्ताेला, प्रमाेद कुमार लामा र बुद्धिसागर लामिछाने सदस्य थिए । Source:news24nepal.tv

Leave a Reply