म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जाका ३३ बर्षिय सम प्रसाद छन्त्याल सन् २००७ जुन १६ तारिकमा बैदेशिक रोजगारका लागि कतार गए। जिल्लाको अति विकट गूर्जाबाट कतारमा राम्रो कम्पनीमा सुरक्षा गार्डको माग आएको जानकारी पाएलगत्तै काठमाडांैको त्रिकोण मेनपावरमार्फत कतारको पेन्सल्टिका नामक कम्पनीमा पुगेका छन्त्यालले २७ महिना काम गरे । वैदेशिक रोजगारीबाट आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य बोकेका छन्त्याल रित्तो हात घर फर्किए।

कम्पनीभित्रको कमजोर ब्यवस्थापनका कारण पारिश्रमिक नदिएपछि सम प्रसादसँगै गूर्जाका दङ्ग प्रसाद छन्त्याल, र बहादुर छन्त्याल सन् २००९ मा घर फर्किए । ठूला भवन, दु्रत ट्याक र स्टिल संरचना बनाउने तथा प्रोजक्टमा कार्यरत म्याग्देलीले आफ्नो सुन्दर भविस्य देखेपनि कम्पनीमा अचानक बन्द भएपछि निराश भएर घर फर्किए । गूर्जाका १० जना एकैपटक फर्किए ।

करिव ५ महिनासम्मको तलब नपाएपछि कम्पनीको टिकटमा घर फर्काइएका समप्रसादले करिब १२ बर्षपछि १ लाख ३८ हजार तलब तलब सुविधा पाएका छन्। कम्पनी बन्द भएपछि एकैपटक नेपाल फर्किएका हेल्पर, सुरक्षा गार्ड, मेकानिकल लगायत विभिन्न पदमा कार्यरत करिव ७ सय नेपालीले १२ बर्षपछि बन्द भएको कम्पनीबाट तलब आएपछि दंग परेका छन्। ‘कम्पनीमा कार्यरत सबैको तलब आएको छ,‘आश गरेका थिएनौ,‘ बाह्र बर्षमा बगेको खोला पनि फर्किन्छ” भन्ने उखान चरितार्थ भएको छ’ समप्रसादले भने ।

उनले उक्त कम्पनीमा कार्यरत कामदारले न्यूनतम ५० हजारदेखि ३ लाखसम्म बुझेको बताए। बेलायती नागरिकको संलग्नता रहेको कम्पनीको माथिल्लो पदमा कार्यरत विदेशीको लापरवाहीले नोक्सानी भएपछि कार्यरत २ हजार कामदारलाई तलब बैंक खातामार्फत पठाउने भन्दै घर पठाइएको थियो । ‘केही महिना निकै कष्ट भयो, ऋण खोजेर घर फर्किए, अहिले खातामा पैसा आउँदा उत्साहित भएको छु’ कम्पनीका पूर्व कर्मचारीले भने ।

उक्त कम्पनीमार्फत धवलागिरी गापा–४ मुदी खिवाङका इन प्रसाद पुन वडा नं ५ मलम्पारका भक्त बहादुर छन्त्याल, वडा नं ७ ताकमका रमेश हर्मेलका साथै मंगला गाउँपालिका–३ बरंजाका ओम पुन र बेनी नगरपालिका–३ भकिम्लीका काशिराम थापा, रघुगंगा गाउँपालिका–३ पिप्लेका अनिल सिंह ठकुरी, वडा नं १ भिम शेरपुञ्जा लगायत उक्त कम्पनीबाट पटक–पटक गरी ५० भन्दा धेरै म्याग्देली घर फर्किएको अनुमान गरिएको छ।

तलबको माग गर्दा बैंकमार्फत पठाइदिने भन्दै कम्पनीले सिधै टिकट हातमा दिएपछि निराश भएकाहरु अहिले सरकारी संयन्त्रमार्फत तलब आएको जानकारी पाएपछि धमाधम सम्पर्कमा आउन थालेका छन्। कतारबाट फर्किए लगत्तै विभिन्न देशमा रोजगारीका लागि पुगेकाहरूले समेत १२ बर्ष अगाडीको तलब आउने जानकारी घरमा गराइसकेको बताए। ‘एउटा सुर्केसभित्र कपडा लिएर रित्तो हात घर फर्किएका थियौं,‘त्यतिबेला यो पैसा आएको भए धेरै हुन्थ्यो’ दङ्गप्रसादले भने।

विदेशी श्रमिकलाई महिनौं बिनातलब काममा लगाउने समस्यामा दुतावासको कम सक्रियता प्रमुख कारण भएको उनको भनाई छ। तत्कालिन समयमा गाउँमा चाहेजस्तो उद्यम गर्नसक्ने अवस्था सिर्जना नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने निर्णय गरेकाहरु कम्पनी बन्द भएपछि निराश हुदै फर्किएका थिए। उक्त कम्पनीमा कार्यरत सुरक्षा गार्डको मासिक १२ सय, लेबर ८ सय, अप्रेटरको १ हजार रियाल तलब रहेको थियो। म्यानपावरलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर कतार उडेका थिए।

कसरी सम्भव भयो तलब ?

नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्काएपछि पीडितको उजुरीमा नेपाल सरकारले लामो समयसम्म गरेको प्रयास पछि तलब दिलाएको हो। वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि परराष्ट्र मन्त्रालयले अग्रसरता देखाएको थियो ।बैदेशिक रोजगार विभागका तत्कालिन प्रमुख स्थानीयश्वर देबकोटाले पहल गरेका थिए ।देबकोटाको जिप दुर्घटनाको मृत्यु भएपछि विभागको नेतृत्व सम्हालेका गिरिजा शर्माले मजदुरको समस्यालाई अगाडी बढाएका थिए ।

सन् २०१० को जनवरीमा फर्किएका मजदुरले तलब नपाएको गुनासो गरेपछि प्रक्रिया अगाडी बढाइएको थियो ।कम्पनीमा कार्यतर भारतीय र फिलिनो नागरिकले तत्कालै क्षर्तीपुर्तीसँगै अर्को कम्पनीमा काम गर्ने अवसर पाएको थिए। नेपाल सरकारको फितलो सक्रियताले कतारमा विदेशी श्रमिकको पारिश्रमिक भुक्तानीमा समेत अझै असर गरेको उनीहरुको गुनासो छ।

‘तत्कालिन समयमा दुतावासले समेत हाम्रो समस्यामा चासो देखाएन्,‘सरकारले प्रयास गरेको भए हामीले २ बर्षभित्रै तलब पाउने थियौं, १२ बर्ष कुर्नुपर्ने थिएन’ भकिम्लीका काशिराम थापाले भने । उनले लगातार दवावका कारण धमाधम नेपालीले तलब पाउन थालेको बताए ।

‘घरको आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारी सहारा होला भन्ने लागेको गरेका धेरै रुदैं फर्किए, ९ महिनासम्म कोठामै बस्नुपर्यो’ उनले भने । तत्कालिन समयमा म्यानपावर कम्पनीलाई प्रति ब्यक्ति डेढ लाखसम्म बुझाएर गएका थिए । उक्त कम्पनीमा कार्यरत नेपालीले सम्बन्धित जिल्ला प्रशासनमा कम्पनीको आइडी, कम्पनीमा कार्यरत पासर्पोट, नेपाली नागरिक लगायतका कागजात लिएर जानुपर्छ । मृत्यु भएकाको हकमा मृत्यु प्रमाणपत्र सहितको आवश्यक कागजात बुझाएर भुक्तानी लिन सकिने बताइएको छ ।