अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरनालाई असर गर्ने गरी फेरी चलखेल सुरू भएको छ । विश्वमै अपार प्राकृतिक सौन्दर्ययुक्त झरनाबाट विद्युत उत्पादन गर्न गुल्मी हाइड्रो पावर कम्पनी लिमिटेडले रोजगार, लगानीको लोभ देखाएर आवश्यक सहयोग जुटाउन स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालासँग पुनः छलफल सुरू गरेको हो।

सर्भे गर्ने क्रममा स्थानीयको विरोधले विवाद उत्पन्न भएपछि रोकिएको आयोजनालाई अगाडी बढाउन गत बुधबार वडा कार्यालयमा भएको छलफलमा गुल्मी हाइड्रोले पुलभन्दा तलबाट आयोजना बनाउँदा तोकिएको विद्युत उत्पादन गर्न नसकिने बताउँदै झरना नजिक रहेको पुरानो पुलबाट करिब १० मिटर माथिबाट आयोजनाको काम गर्नुपर्ने प्रस्ताव गरेपछि स्थानीय विभाजित भएका छन् ।

झरनालाई जोखिममा पारेर विद्युत् उत्पादनको आवश्यकता नभएको भन्दै विरोध सुरू भएको दाना काभ्रेका स्थानीय यूवा श्याम पूर्जाले बताए ।‘लोभ देखाएर प्रभावमा पार्ने प्रयास गरिएको छ,‘सिमित ब्यक्तिलाई लाभ हुने गरी काम भइरहेको छ’ पूर्जाले भने । उनले बैठकमा जनप्रतिनिधि सहितको टोलीले आयोजनाको प्रस्तावको पक्षमा बोलेपनि आफुँले बिरोध गरेको बताए ।

झरना आसपासका क्षेत्रमा जलविद्युत गृहको कल्पना पनि गर्न नसकिने बताउँदै प्रकियामा गएमा कानुनी उपचार खोज्ने चेतावनी समेत दिएको पूर्जाले बताए। जलविद्युत कम्पनीले स्थानीयको सहभागितामा सार्वजनिक सुनुवाई, झरना नमास्ने ग्यारेन्टी सहित सरोकारवाला निकायहरुसँग छलफल समेत नगरेको बताए ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको रुप्से झरनामा बन्न लागेको पक्की पुल र हाल सञ्चालिन पुरानो पुलभन्दा १० मिटर माथि जलविद्युत आयोजनाले गर्ने काम गोप्य राखिएको स्थानीयको आरोप छ ।

पुलभन्दा तलबाट काम गर्दा नाफा नहुने प्रस्तावलाई स्थानीय जनप्रतिनिधिले समेत घुमाउरो तरिकाले समर्थन गरेका छन् । वडा कार्यालयमा भएको छलफलमा गुल्मी हाइड्रो पावरका सञ्चालकले झरनालाई पुरानै अवस्थामा राखेर आयोजना अगाडी बढाउने बताएका थिए । झरनाको पानी सदुपयोग हुने बताउँदै प्राकृतिक सम्पदालाई कुनै असर नगर्ने लिखित प्रतिबद्धता समेत पेश गरेका थिए ।

कम्पनीले स्थानीयको सहभागितालाई प्रमुख प्राथमिकता दिने र झरनालाई पनि कुनै असर नगर्ने जनाएको वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाले बताए। ‘झरनालाई कुनै असर नगर्ने भएपछि सहमति जनाएका छौ,‘हामीलाई झरनाको मायाँ छ, यसको संरक्षणमा कुनै कमी हुन दिन्नौं’ वडा अध्यक्ष पूर्जाले भने।

अधिकांस स्थानीयको सहमति र झरनाको स्वरुपमा असर नगर्ने प्रतिबद्धता अनुसार काम गर्ने वातावरण बनाउने बताए । वडा कार्यालयमा भएको छलफलमा वडामा अधिकांसले सहमति जनाएपछि निर्माण प्रक्रिया अगाडी बढाउन वडाबाट आवश्यक कागजात उपलब्ध गराउने देखि निर्माण कार्यलाई सहज बनाउने प्रतिबद्धता समेत जनाइएको थियो ।

झरनामा विद्युत आयोजना बनाउन नदिन वडा सदस्य हस्तबहादुर पुनको नेतृत्वमा श्याम पुन लगायतको टोलीले राष्ट्रिय सम्पदाको रुपमा रहेको झरनालाई कुनै कम्पनीमार्फत नाफा कमाउने माध्यमको रुपमा प्रयोग गर्ने नदिने भन्दै विगतमा भएका छलफल समेत बहिस्कार गरेका थिए । जलविद्युतका विज्ञ, जलश्रोत विज्ञको समेत उपस्थितीमा छलफल हुनुपर्ने स्थानीयको माग छ।

क–कस्ले चलखेल गरे

रुप्से झरनाबाट विद्युत उत्पादनका लागि सबैभन्दा पहिले रिर्चस एण्ड डेभलपमेन्टले प्रयास गरेको थियो । झरनाको शीरबाट ४ मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने भन्दै पानीको जाँच, तत्कालिन दाना गाविसबाट आवश्यक प्रक्रिया समेत पुरा गरेको थियो । उक्त कम्पनीलेविद्युत खरिद सम्झौता (पिपिए) समेत गरेको थियो । झरनाको २० मिटर माथी पानी खसालेर विद्युत उत्पादनको योजना बनाएको रिर्चस एण्ड डेभलपमेन्टले झरनालाई कुनै असर नगर्ने दावी गदैं आइरहेको छ ।

झरनाको ३० मिटर माथि रहेको एक पोखरीमा ड्याम बनाएर सुरूङ मार्गबाट विद्युत निकाल्ने प्रयासमा मुक्तिनाथ हाइड्रो पावरले समेत चलखेल गरेको थियो । झरनामा बाँध बाधेर टनेल मार्फत तितर भन्ने ठाउँमा पावरहाउस बनाएर विद्युत उत्पादन गर्ने प्रस्ताव गरेको उक्त कम्पनी अहिले सक्रिय छैन् । धौलागिरी हिमालको फेदबाट बग्ने झरना आसपासमा विद्युत् उत्पादनको प्रयास गरिएमा पानीको मुहान भासिने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

पटक–पटक घच्घच्याउँदा पनि बेवास्ता गरिए झरनाको अतित्व नै संकटमा पर्ने जानकारहरुको भनाई छ । रन अफदि रिभर प्रकारको आयोजनामा प्रति मेगावाट अन्य आयोजनाका तुलनामा सस्तो हुने भएकाले पनि झरनाबाट तिब्र गतिमा बग्ने पानीलाई प्रयोग गर्न खोजिएको छ । बि.श २०३० सालमा नेपालको हुलाक टिकटमा समेत प्रकाशित भएको थियो । दानामै सवस्टेशन निर्माणधिन अवस्थामा रहेकाले छोटो दुरीमा आम्दानी समेत राम्रो हुने भन्दै झरनालाई नै आँखा लगाइरहेका छन् । हरिकृष्ण गौतम