‘राष्ट्रिय आविष्कार केन्द्रलाई एक म्याग्देलीले ५ लाख नगद सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान रिमका घर भई हाल स्वडेनमा रहेका सन्तोष पुन मगरले बुबा टेकबहादुर पुन मगर र दाजु उमेश पुनमार्फत केन्द्रका अध्यक्ष एवम् नेपाली बैज्ञानिक महाविर पुनलाई हस्तान्तरण गरेका हुन् ।

महान अभियानमार्फत नेपालीलाई आविष्कारको क्षेत्रमा आत्मनिर्भर बनाउने अभियानलाई सहयोग गरेको सहयोगदाता पुनका बुबा टेकबहादुरले बताए । सोही अवसरमा केन्द्रका अध्यक्ष पुनले सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएपछि सर्वसाधारणको सहयोगमा स्थापना गरेको अवस्थामा निरन्तर सहयोग प्राप्त भइरहेको बताए ।

‘आविस्कार केन्द्रसँग सहकार्य गर्न शैक्षिक योग्यताभन्दा पनि नयाँ सोचको आवश्यकता रहेको छ,‘सहयोगलाई नेपालीको सपना पुरा गर्ने अभियानमै प्रयोग गर्छु’ पुनले भने । उनले धनले मात्रै केन्द्रको अभियान पुरा नहुने भन्दै सीप भएका युवा उद्यमीलाई प्रोत्साहित गर्ने बताए । उनले केन्द्रमार्फत अहिले काठमाण्डौ बाहेक पोखरा, चितवन लगाएत विभिन्न जिल्लामा काम गरिरहेको बताए ।

केन्द्रमा अहिले २० वटा प्रोजेक्ट संचालनमा आएको भन्दै पुनले चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको छ । हाल केन्द्रमा ८ करोडभन्दा बढी रकम सहयोग भएकोमा विश्वभर रहेका म्याग्देलीले समेत संस्थागत तथा ब्यक्तिगत रुपमा सहयोग गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका छन् ।