विवाह खर्च कटाएर सामाजिक संस्थालाई सहयोग

0

पछिल्लो समय विवाह समारोहमा भोजभतेरका लागि लाखौँ रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएको छ। म्याग्दीको सहरदेखि ग्रामिण क्षेत्रमा विवाहमा हुने खर्चलाई मानिसले प्रतिष्ठाको विषय नै बनाउने गरेका छन् ।

भोजभतेर, तडकभडकलाई निरुत्साहित गदैं यहाँका एक नवविवाहित जोडीले विवाहमा हुने खर्च जोगाएर विपन्नको उपचारमा सक्रिय परोपकारी संस्थादेखि विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको बेनी नगरपालिका–९, गलेश्वरका बचन र इन्दिरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर विभिन्न संघ संस्थालाई ४ लाख ३० हजारभन्दा बढी सहयोग गरेका हुन् ।

शुक्रबार गलेश्वरमा आयोजित बैवाहिक समारोहमा नवविवाहित जोडीले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई दुई लाख २२ हजार २२२, पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र गलेश्वर आमा समूहलाई ५१ हजारका दरले सहयोग गरेका हुन् ।

बिवाहको अवसर पारेमा गलेश्वरमा एक कार्यक्रममा पुन दम्पत्ती र उनका अभिभावकहरुले संघ संस्थाका प्रतिनिधिहरुलाई सहयोग रकम हस्तान्तरण गदैं विवाहमा हुने खर्चलाई सामाजिक कार्या सहयोग गदैं भड्किलोपनलाई निरुत्साहित गरी नयाँ संस्कार, संस्कृति र परम्पराको थालनीको सन्देश प्रवाह गर्न सहयोग गरेको बताएका थिए ।

‘पारिवारिक खुसीमा समुदायको हितमा काम गरेका संस्थालाई सहयोग गर्ने अवसर मिल्यो,‘सानो खर्च जोगाउँदा पनि समुदायको हितमा खर्च गर्न सकिन्छ भन्ने सन्देश मात्र दिन खोजेका छौ’ बचनका बुबा बम बहादुर पुनले भने। धार्मिक तथा शैक्षिक क्षेत्रमा सक्रिय बमबहादुरले यसअगाडी ब्यक्तिगत रुपमा धेरै सहयोग गरेपनि छोराबुहारको हातबाट सहयोग हस्तान्तरण गर्दा उत्साहित भएको बताए ।

सोही अवसरमा ओमकुमारी शान्ति कोषका अध्यक्ष शाक्यले सामाजिक कार्यमा ठूलो सन्देश प्रवाह गरेको बताए । त्यस्तै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष शर्माले महासंघले निर्माण गर्ने भवनमा उक्त सहयोगलाई प्रयोग गर्ने बताउँदै पुन दम्पत्तीले समाजप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । नवविवाहित जोडील अष्ट्रेलियामा बस्दै आएका छन् ।

Leave a Reply