पर्यटकीयस्थल टोड्केको स्वर्णद्धारीको शाखा आश्रम नजिकबाट ठयाक्कै पारिपट्टी दुई घर, पशुचौपाया राख्ने गोठ, माथिल्लो डाँडोमा इन्टरनेटको टावर, मन्दिर र आसपासका क्षेत्रमा देखिने मनमोहक दृष्यलाई चित्रमा उतादै थिए यूवा चित्रकार सुरेन्द्र राना ।

रिर्सोट बाहेक टोड्केमा रहेका तीन घरमध्ये दुई घर र आसपासमा देखिने दृष्यको बास्तविकतालाई रानाले करिब २ घण्टा लगाएर चित्र बनाए । स्वर्गद्धारी आश्रम नजिक रहेको भगवती मन्दिर आसपासका क्षेत्रमा लस्करै बसेका ९ जना चित्रकारले टोड्के आसपासमा देखिने दृष्यलाई स्थलगत रुपमै पुगेर लाइभ पेन्टिङ गरिरहेका थिए ।

नजिकै धौलागिरि, अन्नपूर्ण, मानापाथि, नीलगिरि लगायत मनोरम हिमशृंखला, विभिन्न चराचुरुंगीको चिरबिर चिरबिर आवाज, राताम्य भएर फूल्ने तरखर्कमा लालीगुराँस, स्वर्गद्वारी आश्रम र मनमोहक ग्रामीण भेगको दृश्यावलोकनका साथै आसपासको चरन क्षेत्रमा भेटिएका पशुचौपायालाई समेत पेन्टिङमार्फत जस्ताको तस्तै उतारेका थिए। ‘एउटा नयाँ अनुभव भयो,‘हामीले यसलाई निरन्तरता दिन्छौ’ ग्लोरी फाइन आर्टका संयोजक रानाले भने ।उनले यूवा चित्रकारहरुले टोड्के आसपासको बास्तविकतालाई हुवहु चित्रमा उर्तान सफल भएको बताए । मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्केमा पर्यटन बर्ष २०२० लाई लक्षित गरी साविकको धौलागिरी अञ्चलमै पहिलोपटक ग्लोरी फाइन आर्ट गु्रपले पेन्टिङ मार्फत म्याग्दी चिनाउने अभियान अन्तरगत लाइभ पेन्टिङको आयोजना गरेको थियो ।

समुन्द्री सतहदेखि झण्डै दुई हजार ४०० मिटरको उचाइमा रहेको टोड्केको आयोजित लाइभ पेन्टिङमा समुहका संयोजक राना, सदस्यहरु अमृत सिर्पाली, ललिन्द्र थापा, रुपेश कार्की, भिमबहादुर विक, यूकेश सुनार, गोविन्द रोका, प्रेम लामा र सुनिल बोहोराले सहभागीता जनाएका थिए ।

यूवा चित्रकारको एकैपटक टोड्केमा जमघटले उत्साहित भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले बताए । ‘उहाँहरुको कलालाई नजिकबाट हेर्ने अवसर मिल्यो,‘पेन्टिङमार्फत पर्यटनको प्रचारप्रसारमा सघाउने छ’ राम्जालीले भने।

सुनसान जस्तै रहेको टोड्केमा पहिलोपटक २०६५ सालमा गुराँस महोत्सवमार्फत उजागर गर्ने टोलीका प्रमुख ब्यक्ति समेत रहेका राम्जालीले भविस्यमा समेत यस्तै रचनात्मक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । म्याग्दीमा पेन्टिङसँगै स्केच लगायत डिजिटल पेन्टिङमा समेत यूवाहरु अग्रसर छन् । टोड्केको पेन्टिङलाई प्रर्दशनी तथा बिक्री गरिने छ । टोड्केमा सुविधासम्पन्न टोड्के हिल रिर्सोट समेत सञ्चालन गरिएपछि पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढेको छ ।