भुवनसिंह विश्वकर्मा,जसले बाग्लुङको माटो अन्टार्कटिका पुर्‍याए

0
अन्टार्कटिका मानवविहीन, सुन्दर र पवित्र महादेश । अन्टार्कटिका पृथ्वीमा सबैभन्दा पछि पत्ता लागेको सातौं महादीप पनि हो । जहाँ ६ महिना उज्यालो र ६ महिना अँध्यारो हुन्छ । जुन महादेवमा सन् १९११ मा मानिसले पहिलो पाइला टेकेको थियो । जाडो याममा माइनस ८९ र गर्मीमा माइनस २९ डिग्री सेल्सियससम्म तापक्रम हुनुका साथै प्रतिघण्टा दुई सय किलोमिटरको रफ्तारमा आँधीहुरी समेत चल्छ त्यहाँ ।
९८ प्रतिशत हिउँ र २ प्रतिशत मात्र जमिन रहेको उक्त महादेशमा पहिलो पटक पाइला टेक्ने नेपाली हुन् भुवनसिंह विश्वकर्मा ।वैज्ञानिक खोज, अनुसन्धानका लागि अन्टार्कटिका विश्वका विकसित मुलुकहरूले वैज्ञानिकको टाली पठाउने गर्छन् । भारतीय सेनाका कार्यरत रहँदा सन् १९८६ मा भारतको छैठौं वैज्ञानिक टीमसँग विश्वकर्मा पहिलो पटल ६ महिना उज्यालो ६ महिना अध्यारो हुने अनकन्टार अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली हुन् ।
बाग्लुङको बलेवाका विश्वकर्मा भारतको महासागर विभागको छनोटमा परी वंगाल इन्जिनीयरिङ गु्रुप रुडकीबाट त्यहाँ जाने अवसर विश्वकर्माले पाएका हुन् । उनी सन् १९८६ (२०४३) मा पहिलोपटक त्यहाँ पुगे भने दोस्रो पटक सन् १९९० मा त्यहाँ पुगेका थिए। उनी दुई पटक गरी त्यहाँ १८ महिनासम्म बसेका छन् ।

विसं २०१४ मा बागलुको साविक नारायणस्थान गाविस बलेवा (हाल बाग्लुङ नगरपालिका) मा जन्मिएका विश्वकर्माका बाबा भारतको गोरखपुरमा सुन पसल गर्थे । गोरखपुरमा बसेर विश्वकर्मा पढे । गोरखपुरबाटै सन् १९६९ मा १५ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए । आर्मीमा वेल्डिङको कामको काम उनको क्षेत्र थियो । वैज्ञानिक दलमा सबै क्षेत्रबाट दक्षहरू मात्र छनोटमा पर्थे

‘मौसम राम्रो भएर सहज रूपमा जान पाइयो,’ उनले सुनाए, ‘भातरबाट रात दिन नरोकिइनक पानीजहाजमा २४ दिन गएपछि अन्टार्कटिका पुगिन्छ । मौसममा गडबढी र समुद्री छालका कारण केही अवरोधहरू भए २६ दिनसम्म पनि लाग्न सक्छ । म जाँदा दुई पटक नै मौसम राम्रो भएका कारण २४ दिनमै पुगियो ।’ उनका अनुसार त्यहाँ जाने पानी जहाजहरू धेरै ठूला हुन्छन् । त्यसभित्र दुई वटा हेलिकप्टरदेखि चार पाँच वटा गाडी र दुई वर्षसम्मलाई पुग्ने सबै खाद्यान्न, अनुसन्धानका लागि आवश्यक पर्ने सामानदेखि अन्य सबै वस्तु अट्ने हुन्छन् ।

विश्वकर्माको सोचाइमा थियो पृथ्वीको एउटा कुनामा रहेको अटार्कटिका पुगेपछि बडो रमणीय होला, रमाइलो गरौंला । तर, त्यहाँ पुगेपछि त्यस्तो रहेनछ । ‘पानीजहाजमा रहुञ्जेल त रमाइलो भयो, आनन्द भयो । त्यहाँ झरेपछि ६ घण्टा सुत्नुबाहेक अन्य सबै समय आफूलाई खटाइएको काम गर्नुपर्थ्यो । राति पनि नहुने जतिखेर पनि उज्यालो नै । आफूलाई दिइएको काममा बडो ध्यान दिएर गर्नुपथ्यो,’ उनले अन्टार्कटिका यात्राबारे भने, ‘पहिलो पटक हामी जाँदा दिनमा रहने समयमा गएका थियौं । हामी त्यहाँ ६ महिना बसेर आइयो ।’ त्यहाँ जाँदा उनले बागलुङको माटो र मोहोरहरू पनि लगेका थिए ।

भारतका राकेश शर्मालाई चन्द्रमामा पहिलो पटक गएर आएपछि उनलाई प्रधानमन्त्री इन्दिरा गान्धीले सोधेकी थिइन्, ‘त्यहाँबाट हेर्दा हाम्रो भारत कस्तो लाग्छ ? प्रधानमन्त्रीको प्रश्नमा राकेशले जवाफ दिएका थिए, ‘साह्रै जहासे अच्छा हिन्दूस्थान हमरा’ भन्ने जवाफ दिएको विश्वकर्माले एक कार्यक्रममा सुनेका थिए । ‘म पहिलो पटक अन्टार्कटिका जाने टीममा छनोट भएपछि बागलुङको घरबाट माटो मगाएर एउटा बट्टामा केही मोहोर राखेर त्यहाँ लगेर हाम्रो अभियान सफल होस्, नेपालमा शान्ति कायम रहिरहोस भनेर चढाएको छु ।’

विश्वकर्मा फेरि सन् १९९० देखि ०९२ सम्म १४ महिना अन्टार्कटिकामा बिताए । दोस्रो पटक उनी भारतको दशौं वैज्ञानिक अभियान दलमा गएका थिए । उनीले त्यहाँ १४ महिनाको बसाई सम्झिए, ‘जहाज छाडेपछि हामी त्यहाँ भगवानलाई सम्झिन्थ्यौं । बाँचे फर्कौंला नत्र यहीँ काम गर्ने हो भन्थ्यौं ।’ अन्टार्कटिकाको बाक्लो हिउँमा पनि वेल्डिङ गर्ने, तापक्रम बढाएर हिउँ पगालेर पानी निकाल्ने, तापक्रम बढाएर दिसापिसाब विसर्जन गर्ने उनको काम हुन्थ्यो । त्यहाँ फोहोर गर्न पाइँदैन । फोहोरलाई जलाएर विसर्जन गर्नुपर्छ । नत्र फर्काएर ल्याउनुपर्छ । अन्टार्कटिकाको जाने समय नोभेम्बर अन्तिम साताबाट शुरू हुन्छ । डिसेम्बर तेस्रो साता त्यहाँ पुगिन्छ । त्यो बेला त्यहाँ छर्लाङ्ग उज्यालो भइसकेको हुन्छ । हिउँ पग्लिन थालेको हुन्छ । घामपनि माथि आइसकेको हुन्छ । उनका अनुसार साढे दुई महिना मात्रै त्यहाँ काम गर्ने हो । त्यसपछि फर्किहाल्नुपर्छ नत्र समुद्र जम्न थाल्छ र पानीजहाज हिँड्न सक्दैन ।

उनी भन्छन्, ‘अन्टार्कटिका मानवबस्ती र वनस्पतिरहीत महादेश हो । त्यहाँ ज्वालामुखी चट्टान निर्मित पर्वतहरू मात्र छन् । ती सँधैं बाक्लो हिउँले ढाकिइरहन्छन् । महाद्वीपका करीब शतप्रतिशत भाग नै हिउँले सँधैंभरी ढाकेको हुन्छ ।’ महादेशमा छ महिना पूरै अँध्यारो र छ महिना पूरै उज्यालो हुन्छ । त्यहाँको दुई भागमा बेलह र रोस नामका दुई विशाल समुद्र छन् । ‘अन्टार्कटिकालाई विश्वका शक्तिशाली देशहरूले अनुसन्धान थलोका रूपमा प्रयोग गरिरहेका छन् । त्यहाँ खनिज, युरेनियम लगायतको अनुसन्धानका लागि विश्वका ४० भन्दा बढी देशका अनुसन्धान टोली जान्छान्,’ भुवनसिंह बताउँछन् ।

सेवानिवृत्त उनी अहिले बुटवलको होराइजन चोकमा घर बनाएर बसेका छन् । अन्टार्कटिका यात्रा गर्ने पहिलो नेपालीका रूपमा उनलाई राजा वीरेन्द्रले विसं २०४९ मा प्रसिद्ध प्रवल गोर्खा दक्षिणबाहु प्रदान गरेका थिए ।विश्वकर्माको नाममा बुटवलको होराइजन चोकनजिकैको पथलाई भुवनसिंह मार्ग र मकवानपुरको हेटौंडाका केही सडक पनि उनकै नाममा नामाकरण गरिएको छ ।

उनको नाममा अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भन्ने ३० मिनेटको वृत्तचित्र पनि बनेको छ । सन् २०२० मा भारतीय सेनाबाट सेवा निवृत्त भएका विश्वकर्मालाई आफ्नो बारेमा पाठ्यक्रममा पनि समावेश गरिदिए हुन्थ्यो भन्ने इच्छा छ । देशलाई परिचित गराउनेहरूको राज्यले सम्मान गर्नुपर्ने उनको बुझाई छ ।

‘अन्य देशहरूले आफ्ना नागरिकले नयाँ केही गरे भने ठूलो सम्मान हुन्छ । तर नेपालमा हुँदैन,’ उनले गुनासो पोखे ।  उनी अहिले बुटवलमा रिटायर्ड जीवन बिताइरहेका छन् । दुई छोरी र एक छोरालाई स्नातकोत्तर पनि उनले गराइसकेका छन् । उनको छोरा अहिले क्यानडामा अध्ययनरत छन् । उनी अहिले बुटवलमा विभिन्न सामाजिक कार्यमा सक्रिय छन् । Source: lokaantar.com

Leave a Reply