ग्रामीण भेगमा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारी खेती र फलफुल सङ्कलन तथा बिक्री वितरणका लागि स्थानीयलाई सहज भएको छ । स्थानीय कृषकलाई लक्षित गरेर स्थापना गरिएको कृषि उपज सङ्कलन तथा बेचबिखन केन्द्र स्थानापनासँगै उनीहरुलाई राहत मिलेको हो ।

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तल्लो तातोपानी बजार छेउमा निर्माण गरी सञ्चालनमा ल्याइएको कृषि उपज सङ्कलन केन्द्रले स्थानीयलाई सहज भएको बताइएको छ । तत्कालीन तातोपानी कृषि सहकारीद्वारा सञ्चालित उक्त केन्द्रले ग्रामीण भेगमा उत्पादित कृषिजन्य तरकारी तथा फलफुलको बिक्री वितरण र बजारीकरणमा सहयोग पुगेको जनाएको छ ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालय म्याग्दीले सातलाख, स्थानीय जनश्रमदान एकलाख २५ हजार, तातोपानी कुण्ड व्यवस्थापन समितिबाट ६८ हजार आठसय र तातोपानी कृषि सहकारी संस्थाबाट ६८ हजार आठसय रुपैयाँ गरी कुल नौलाख ६२ हजार छ सय २० रुपैयाँको लागतमा कृषि उपज सङ्कलन तथा बेचबिखन केन्द्र स्थापना गरी सञ्चालन गरिएको थियो । केन्द्र स्थापनासँगै यस भवनले ग्रामीण कृषकहरुलाई धेरै सहज भएको छ भने उक्त भवनमा अहिले विविध कार्यक्रमहरु समेत हुन थालेका छन् ।

यस केन्द्रमा हाल सिजन अनुसारको कृषि उपजहरु सङ्कलन हुनुका साथै बिक्री वितरण गर्ने गरिएको समितिका अध्यक्ष तुलप्रसाद श्रेष्ठले बताउनुभयो ।कृषि उपज सङ्कलन तथा बेचबिखन केन्द्रमा सिङ्गा, राक्से, ठूलोखोला, कल्यान, तातोपानी, सिमलचौर, पखेर तथा बान्द्रे लगायतका स्थानबाट कृषकहरुले तरकारी तथा फलफुलहरु बिक्री वितरण गर्न ल्याउने गरेका छन् ।

तातोपानी आसपासको क्षेत्रमा कृषकहरुले उत्पादन गरेका तरकारी र फलफुल केन्द्रमार्फत बिक्री हुने गरेको छ । कृषि उपज सङ्कलन तथा बेचबिखन केन्द्रमा मौसम अनुसार उत्पादन हुने आलु, गोलभेंडा, बन्दा, काउली, गोभी, भेन्टा, सिमी, खुर्सानी, सुन्तला, केरा, कागतीलगायत उत्पादनहरु बिक्री हुन्छ ।

कृषि सहकारी स्थापना गरेको एक वर्षको अवधिमै बेचबिखन केन्द्र स्थापना गरिएको थियो । जिल्ला कृषि विकास कार्यालयमा कृषक समूह दर्ता गरी तातोपानी क्षेत्रमा क्रियाशिल कृषक समूहलाई आबद्ध गराएर बेचबिखन केन्द्र चलाइएको छ ।

कृषकहरुले उत्साहका साथ केन्द्र स्थापना गरेर सञ्चालन गरेकोमा यसलाई आगामी दिनमा व्यवस्थित रुपमा सञ्चालनको तयारी थालिएको हो । कृषि उपज सङ्कलन र बेचबिखन केन्द्रको सभाहलमा पछिल्लो समय स्थानीयवासीले योगा समेत गर्दै आइरहेका छन् । नियमित रुपमा योगा गर्ने गरिएको यस कृषि बेचबिखन केन्द्रमा टोल सुधार समितिको वैठक, भेला, छलफल र अन्तत्र्रिmया पनि गर्ने गरिएको छ । यसका साथै विवाह, ब्रतबन्धलगायत सामाजिक कार्यहरु समेत हुने गरेका छन् ।