नेपाल बैंकको ब्राण्ड एम्बेसेडरमा महावीर पुन नियुक्त

0

म्यागासेसे पुरस्कार डा. विजेता, युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको हो । एम्बेसेडरका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तर्फबाट पुनले हस्ताक्षर गरेका छन् ।

केन्द्रको सहयोगका लागि बैंकले १० लाख रुपैयाँ प्रदान गरेको पुनले जानकारी दिए । पुनले आविष्कार केन्द्रको सहयोगका लागि आफू अन्य कुनै पनि कम्पनी र व्यावसायहरुको ब्राण्ड एम्बेसेडर बन्न तयार रहेको बताएका छन् ।‘आविस्कार केन्द्रसँग सहकार्य गर्न शैक्षिक योग्यताभन्दा पनि नयाँ सोचको आवश्यकता रहेको छ,‘सहयोगलाई नेपालीको सपना पुरा गर्ने अभियानमै प्रयोग गर्छु’ पुनले भने ।

उनले धनले मात्रै केन्द्रको अभियान पुरा नहुने भन्दै सीप भएका युवा उद्यमीलाई प्रोत्साहित गर्ने बताए । केन्द्रमार्फत अहिले काठमाण्डौ बाहेक पोखरा, चितवन लगाएत विभिन्न जिल्लामा काम गरिरहेको बताए । केन्द्रमा अहिले २० वटा प्रोजेक्ट संचालनमा आएको भन्दै पुनले चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको बताए ।

हाल केन्द्रमा ८ करोड रकम सहयोग भएकोमा विश्वभर रहेका म्याग्देलीले समेत संस्थागत तथा ब्यक्तिगत रुपमा सहयोग गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका छन् ।

Leave a Reply