अपार प्राकृतिक सौन्र्दयतायुक्त अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरना नजिक पुग्दा पर्यटकले र्फर र्फर उडाउन खोजस्तै अनुभुति गर्छन् । विश्वभरका पर्यटकको मन जित्न सफल रुप्से झरनाको अवलोकनका लागी पुग्ने बालबालिका देखी बृद्धबृद्धासम्म झरनामा रमाउँछन् ,प्रेमी–प्रेमीकाले झरनालाई आफ्नो सुन्दरतासंग तुलना गर्छन्। न्यूनतम पूर्वाधार नुहदाँ समेत झरनाले आफ्नो सुन्दरताबाट पर्यटकलाई आर्कषित गर्न सफल भएको छ ।

झरनाले पैदलयात्रा गरेका यात्रीको थकान मेटाउँछ, सवारीसाधनमा गुडेर पुगेकालाई आनन्दको अनुभुति दिलाउँछ । बि.श २०३० सालमा नेपालको हुलाक टिकटमा समेत प्रकाशित भएको झरनालाई नेपाल सरकारको पर्यटन बर्ष २०२० मा गण्डकी प्रदेशभित्रको सुन्दर गन्तब्यको रुपमा समेत चिनिएको छ।दानाको शीरबाट छङछङ गदैं बग्ने कलकल झरनाको प्रचारप्रसार र पूर्वाधार विस्तारमा स्थानीयको प्रयासलाई रोक्न जलविद्युतका माफियाले झरनाबाट बग्ने पानीलाई बेचेर मनग्य आम्दानी गर्ने प्रयासमा छन् ।

झरनाको नजिक बग्ने कालिगण्डकी नदीलाई छोडेर जलविद्युतका कम्पनीले केही स्थानीयलाई प्रलोभनमा परी विद्युत कम्पनीलाई स्वागत गर्दछन्। म्याग्दी जिल्लालाई विश्वका कुना–कुनामा चिनाउने झरनालाई सिमित ब्यक्तिको कमाई खाने भाँडो बनाउने प्रयासमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र अगुवाहरुले समेत मौन समर्थन गरेका छन् । गाउँका केहीलाई रोजगार, सेयरको चिन्ता छ, केहीलाई ठेक्कापट्टा तर झरनाका बारेमा बोल्नेहरूको आवाजलाई दबाबले पेल्ने प्रयास भइरहेको छ।

पर्यटकीय दृष्टिकोणले अत्यन्न महत्वपूर्ण मानिएका झरना नजिकबाट विद्युत उत्पादनको प्रयास भइरहदाँ जिल्लाका सरोकारवाला निकाय चुपचाप छन् । गुल्मी हाइड्रोले पुलभन्दा तलबाट आयोजना बनाउँदा तोकिएको २ मेगावाट विद्युत उत्पादन गर्न नसकिने बताउँदै झरना नजिक रहेको पुरानो पुलबाट करिब १० मिटर माथिबाट आयोजनाको काम गर्नुपर्ने प्रस्ताव गरेपछि झरनालाई असर गर्ने देखिन्छ ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको रुप्से झरनामा बन्न लागेको पक्की पुल र हाल सञ्चालिन पुरानो पुलभन्दा १० मिटर माथि जलविद्युत आयोजनाले गर्ने काम गोप्य राखिएको छ । विद्युत कम्पनीले झरनालाई सुरक्षित गर्ने ग्यारेन्टी दिन सकेको छैन ।

१० मिटर माथि भनिएपनि अघोषित रुपमा झरनामा रहेको प्राकृतिक तीनवटा पोखरमध्ये एउटा पोखरीसम्म पुगेर काम गर्ने प्रयासमा विद्युत कम्पनी रहेको स्थानीयको आरोप छ । विद्युत कम्पनीले रुप्से मास्ने अनेक प्रपन्च रच्ने काम भइरहेको छ । विश्वभरका पर्यटकलाई आर्कषित गर्ने झरनालाई मास्ने गरी जलविद्युत बनाउन दिने, जलविद्युत कारण आसपासमा समेत असर गर्ने देखिएको छ।

झरनाको सुन्दरतालाई मास्ने प्रयासलाई कदापी स्वीकार गर्नु हुदैन् । रुप्से नजिकै रहेको कालिगण्डकीलाई नदेख्नेहरुले न्यून लगानीमा धेरै कमाउने दाउलाई सफल हुन दिएमा दानाबासीमात्रै नभई सिंगो म्याग्देलीलाई आघात पुग्छ । रामायणका मुख्य खलपात्र रावणले सितालाई अपहरण गरे जस्तै झरनालाई तीनवटा जलविद्युत कम्पनीले शीर देखी पुच्छारसम्म विद्युत उत्पादन गरी झरनाको सुन्दरतालाई अपहरण गर्ने प्रयासलाई असफल बनाउनुको विकल्प छैन् । बेनी साप्ताहिकबाट साभार