कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पोखरामा होली निषेध

0

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पोखरामा यस वर्ष होली निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विश्व भर संक्रमण बढीरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुचना जारी गरेको हो ।

होली पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले होली पर्वमा भीड जम्मा नहुन तथा होली पर्व नखेल्न पनि आग्रह गरेको समेत गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले कास्की संक्रमणको उच्च जोखिममा पर्न सक्ने भएको भन्दै उच्च सर्तकता अपनाउनुपर्ने बताउनुभयो ।

हालसम्म विश्वभरका ७७ राष्ट्रका ९१ हजार जना कोरोना भाइरसको संक्रमणमा रहेको छन् भने ३ हजार भन्दा बढीको ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेको नेपालमा यसको सर्तकता अपनाउनुपर्ने बताएपछि यस वर्षको होली निषेध गरिएको हो ।

कास्की जिल्ला पर्यटनको हिसाबले महत्वपुर्ण रहेको र कास्की अझै उच्च जोखिममा पर्ने सम्भावना भएका कारण नजिकिँदै गरेको होली पर्व नखेल्न तथा भीडबाट टाढा रहन पनि जिल्ला प्रशासन कार्यालय कास्कीले सबैलाई आग्रह गरेको छ ।

कार्यक्रमका लागी अनुमति लिन आएका संघ संस्थाहरुलाई अनुमति नदिएको पनि प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । विभिन्न सांगितिक कार्यक्रमका लागी अनुमति माग्न आएको भएता पनि कोरोनाको कारण खुलाएर फिर्ता पठाएको उहाँले बताउनुभयो ।

कास्की जिल्लालाई कोरोनाबाट बचाउन हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ । कोरोना लाग्नबाट बच्नका लागी केसीले कास्कीका स्थानीयलाई सफा रहन तथा हात मिलाउने कार्य बन्द गर्न आग्रह पनि गर्नुभयो ।

होलीमा पोखराका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम हुँदै आइरहेका थिए । पोखराको लेकसाइडमा हुने होलीको विशेष कार्यक्रम यसपालि भने नगर्न भन्दै स्थानीय प्रशासनले सुचना जारी गरे सँगै यसपालिको होली पर्वमा त्यत्ति रौनक नहुने अनुमान गरिएको छ ।

यस अघि पोखरामा होली पर्वमा करीब १ दर्जन भन्दा बढी कार्यक्रम हुँदै आइरहेका थिए । नेपाली तथा विदेशी सबै मिलेर एकताको पर्वको रुपमा रंग खेलेर मनाइने होली यो पटक कोरोनाका कारण कम खेलिने निश्चित भएको छ ।

Leave a Reply