म्याग्दीको अति विकट गूर्जामा करिब एकदशक बुकी, लेकमा गोठालो जस्तै जीवन विताएका अम्मर छन्त्याल पाको उमेरमा अमेरिका हानिए । धवलागिरी गाउँपालिका–१, गूर्जा, छिमेकी जिल्ला बागलुङ र रुकुमसम्मको बुकीमा यूवा अवस्थामा पशुचौपायासँगै विताएका छन्त्याल नेपाली भाषाको संरक्षणमा सक्रिय छन् ।

भारतीय सेना हुदै अमेरिकामा पुगेका छन्त्यालले रेष्टुरेन्ट ब्यवसायसँगै नेपाली संघसंस्थाका धेरै कार्यक्रममहरुमा सक्रियतासँगै नेपाली भाषाको संरक्षणमा समेत जोड दिने गरेका छन् । करिव दुई दशकको अमेरिका बसाईमा उनले थुप्रै कार्यक्रमलाई नेपालीपन दिने प्रयास गरेका छन् ।  गोठालो जीवन, भारतीय सेनामा कार्यरत हुदाँ नेपाली भाषाप्रति कुनै ध्यान नदिएका छन्त्यालले अमेरिका पुगेपछि भाषाको संरक्षण र प्रर्बधनको महसुस गरेको बताए ।

‘नेपाली भाषा प्राणजस्तै प्यारो छ,‘अमेरिकामा नेपाली भाषाको संरक्षण अति आवश्यक देखिएको छ’ छन्त्यालले भने। उनले अमेरिकामा जन्मिएका, हुर्किएका नेपालीले नेपाली भाषामा ध्यान नदिए आफ्नो जन्मभूमि समेत नफर्किने चिन्ताले नेपालीको भाषालाई संरक्षणका लागि प्रभावकारी कार्यक्रमहरु सुरु भएको उनले बताए। उनले अभिभावकले नेपाली बोलेर मात्रै नहुने भन्दै भाषाका बारेमा आफ्ना बालबच्चालाई जानकारी गराउनुपर्ने बताए।

नेपाली भाषाको संरक्षणमा चिन्तित छन्त्यालको संयोजकत्वमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने ५ औ युनाईटेड नेप्लिज एसोसिएसन(युएनए)को सम्मेलन अमेरिकामा जन्मेका बालबालिकाहरूप्रति केन्द्रित गरिएको छ ।
अमेरिकामा जन्मेका बालबालिकाले दुवै पढ्ने र लेख्ने प्रतियोगितामा विजय हासिल गरेमा ५ हजार डलर नगद तथा पुरस्कारसम्म पाउने व्यवस्था गरिएको ५ औ युएनए सम्मेलन संयोजक छन्त्यालले बताए ।

‘नेपाली भाषा संरक्षका लागि ५ लाख नगदको पुरस्कारको ब्यवस्था गरिएको छ,‘थुप्रै अभियानहरुले अव निरन्तरता पाउनेछन्’ उनले भने । अमेरिकामा बासोबास गर्ने नेपालीहरुको विदेशी भाषा मोहले नेपाली भाषा लोप हुने सम्भावना ज्यादै बढेकाले पुरस्कार सहितको अभियान सुरु गरिएको छन्त्यालको भनाई छ ।

अमेरिकाको एमआईटी, न्युयोर्कको एल विश्व बिद्यालय र हार्वर्ड जस्ता प्रसिद्ध बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिधार्थीको खोजी गरी उनीहरुको सहभागीतामा कार्यक्रम गरिने छ । प्रतियोगितालाई अमेरिकामा रहेका नेपालीले निकै चासोपूर्वक हेरेका छन् । प्रतियोगितामा पढाई, लेखाई र बोलाई गरी तीन विधामा ६ देखि १२ बर्षका अमेरिकामा जन्मेका बालबालिकाहरु सहभागी हुन पाउने छन् । प्रतियोगितालाई सफल बनाउन उपसमिति समेत बनाइएको छ ।