म्याग्दीको उत्तरी क्षेत्रमा अवस्थित अन्नपुर्ण गाउँपालिका–३, दानामा रहेका अन्धगल्छी खोज्दै गएका पर्यटक अलमलमा परे । मुस्ताङ घुम्न हिडेका यूवाहरुको टोलीले रुप्से झरनामा तस्वीर लिएर अन्धगल्छी खोज्दै जाँदा नभेटेपछि रेष्टुरेण्ट संचालन गरेका सुवर्ण खत्रीलाई विश्वकै गहिरो गल्छी भएको ठाउँका बारेमा जिज्ञासा राखे । गल्छी नजिक पुगेर तस्वीर खिच्ने योजना बनाएका यूवाको समुहले विश्वास गरेनन् ।

अन्धगल्छी जाने बाटोमा पहाडजस्तै माटोका थुप्रोले जान नसक्ने अवस्था भएपछि उनीहरु निराश भएर फर्किए । मुस्किलले हेर्न गएकाहरू समेत ढुङ्गा, माटो, गेगर थुप्रिएको दृष्य हेरेर फर्किए । गल्छीको उचाई १३ सय मिटर देखी २६ सय मिटर सम्म धौलागिरी र अन्नपूर्ण चुचुरोबाट ५५ सय देखी ६८ सय मिटर तल रहेका पुष्टी समेत भइसकेको छ । खै त गल्छी, खै त गहिरो ? कहाँ छ पुरानो गल्छी ? भन्ने प्रश्नको जवाफ दिदाँदिदै हैरान भएको यूवा ब्यवसायी खत्रीले बताए ।

एसिया महादेशमा पर्ने विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाजिरी जवाफमा पटक–पटक सोधिने प्रश्नमध्ये यो एक भएकाले घुम्न आउने अधिकांसले दानामा रहेको जानकारी पाएपनि हेर्न आउँदा विजोग देखेर फर्किने गरेको सरस्वती आधारभुत विद्यालय काभ्रेका प्रधानाध्यापक श्याम पूर्जाले बताए ।

‘अवलोकन गर्न दैनिक आउने आन्तरिक र विदेशी पर्यटक निराश भएर फकिन्छन्,‘संरक्षणको प्रयास नै भएको छैन’ पूर्जाले भने । कालीगण्डकी करिडोर निर्माण गर्ने क्रममा दानाको काभ्रे भीरमा सडक फराकिलो गराउने क्रममा त्यहाँबाट निस्कने ढुङ्गा, माटो, गेगर लगायतका अन्य वस्तु सिधै गल्छीमा खसाल्ने गरिएको बताउँदै रोक्ने प्रयास दुईबर्ष देखि असफल भएको बताए।

सडक विस्तारको क्रममा अन्धगल्छीमा आवतजावत गर्ने पदमार्ग, प्रतिक्षालय लगायतका संरचना समेत भत्किएको छ। उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा गण्डकी प्रदेशकै जीवनरेखा मानिएको सडकखण्डबाट नजिकै रहेको गल्छीको संरक्षणमा चासो देखाउनुपर्ने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए। ‘अन्धगल्छी र रुप्से झरना दुवै संकटमा छन्,‘संरक्षणका लागि तत्काल चासो देखाउनुपर्छ’ उनले भने ।

उनले छिमेकी देश चीनको तिब्बत्बाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालिगण्डकीको खोचलाई विश्वमै गहिरो मानिने भएकाले विश्वभरका पर्यटकका लागी आर्कषक गन्तब्य भएको बताए । रुप्से झरनामा जलविद्युत कम्पनीले आँखा लगाउनु जिल्लाको पर्यटनको क्षेत्रमै दुर्भाग्य भएको पर्यटनका जानकारहरु बताउँछन् ।

शालिग्राम पाइने विश्वको एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराइ ६ हजार ९६७ मिटर छ । संसारको सातौं अग्लो शिखर धौलागिरि र दशौं अग्लो अन्नपूर्ण हिमालको बीचमा पर्ने गल्छी समुन्द्री सतहबाट १ हजार २०० मिटरमा अवस्थित छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट ३० किलोमिटर उत्तरपूर्वमा पर्ने रुप्से छहरा र अन्धगल्छी पुग्न करिब एक दिनको पैदलयात्रा गर्नुपर्छ ।

‘काली–एक्स’ इभेन्टको तयारी
२० लाख विदेशी पर्यटक लक्ष्यसहित सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मा घुम्न आउने साहसिक पर्यटक लक्षित गर्दै उत्तरी म्याग्दीलाई समेट्ने गरी ‘काली–एक्स’ इभेन्टको तयारी गरेको छ। म्याग्दी र हिमाली जिल्ला मुस्ताङका विभिन्न भागमा गरिने यो इभेन्ट नेपाल भित्रिएका साहसिक पर्यटकका लागि निकै नै रोमाञ्चक हुने र नौलो कोसेली बन्ने व्यवसायीले बताएका छन्। कालीगण्डकी नदी क्षेत्रमा गरिने ‘काली–एक्स’ इभेन्ट साहसिक पर्यटक लक्षित गतिविधि हो। भ्रमण वर्ष २०२० मा आउने साहसिक पर्यटकका लागि यो निकै आकर्षक हुने सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले बताए ।

विश्वकै गहिरो गल्छीको पहिचान कमाएको कालीगण्डकी नदीको अन्धगल्छी क्षेत्र आसपासमा हुने यो इभेन्टले नेपालको पर्यटनमा नयाँ सम्भावना उजागर गर्ने ‘काली एक्स’ इभेन्टका परामर्शदाता विश्वराज ज्ञवालीले बताए। आगामि डिसेम्बर १ देखि ६ सम्म यो इभेन्ट आयोजना हुँदैछ। इभेन्टमा साहसिक पर्यटक तान्ने गरी माउन्टेन बाइकका गतिविधि हुनेछन्।

गल्छी क्षेत्रमा नेपाल भ्रमण वर्ष लक्षित माउन्टेन बाइकका गतिविधि गर्दा साहिसक पाहुना तान्न सकिने अनुमान पर्यटन क्षेत्रका जानकारहरुको छ । मुस्ताङको कागबेनीदेखि म्याग्दीको तातोपानीसम्म झन्डै ६० किलोमिटर क्षेत्रमा इभेन्ट गर्न सकिने अध्ययनले देखाएको छ। तर पहिलो चरणमा कागबेनीदेखि कालापानीसम्मको करिब ४० किलोमिटर दूरीलाई समेटेर आसपासका बस्ती, खोंच, डाँडाकाँडामा यो इभेन्ट हुनेछ। इभेन्टमा माउन्टेन बाइकसँग सम्बन्धित इन्ड्युरो, क्रसकन्ट्री, कल्चरल ह्विल, मास राइड, साइफोरा नाममा गतिविधि हुनेछन्।