एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी

0

प्रताप बानियाँ/ मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चिततासम्बन्धी गोष्ठी सुरु भएको छ । मंगला गाउँपालिका, मिलन म्याग्दी र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा गोष्ठी सञ्चालन गरिएको हो ।

गोष्ठीको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपनाका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताएका छन् । उनले सडक, पुल र भवन निर्माणकार्य मात्रै विकास नभएको बताउँदै मानव पुँजी निर्माण नै विकासको महत्वपूर्ण पक्ष भएको बताए । उनले पोषण तथा स्वास्थ्यको दीगोपना नभएसम्म विकासले गति लिन नसक्नेमा जोड दिँदै पालिकालाई समृद्ध र सुपोषित बनाउन गोष्ठीले सहयोग गर्ने बताए ।

गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले पोषणयुक्त र समुन्नत गाउँपालिका बनाउनका लागि नीति तथा कार्ययोजना तयार गर्न गोष्ठी आयोजना गरिएको बताइन् । गोष्ठीको पहिलो दिन सुआहारा कार्यक्रमका संयोजक चिरञ्जीवि दाहाल, मंगला गाउँपालिकाका शिक्षा संयोजक डेकबहादुर बानियाँ, स्वास्थ्य संयोजक लेखनाथ रोका र खानेपानी, सरसफाई तथा स्वच्छताको विषयमा कार्यकारी सचिव राजेन्द्र आचार्यले सहजीकरण गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा पोषणको महत्व, औचित्य र आवश्यकता, विषयगत क्षेत्रहरुको विद्यमान अवस्था, स्वास्थ्य तथा पोषणमा गाउँपालिकाको परिकल्पना र लक्ष्य तथा स्थानीय सरकारको अपेक्षा, एकीकृत पोषण सेवाको दीगोपनाको सुदृढ प्रणाली, कार्ययोजना निर्माण एवं प्रस्तुतीकरण, प्रतिबद्धता र घोषणा, पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकमा प्रतिबद्धता अनुमोदन लगायतका विषयहरुमा सहजीकरण, छलफल एवं अन्तत्र्रिmया गरिनेछ ।

गोष्ठीमा गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, विषयगत शाखा प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्य संस्थाका इन्चार्जहरु, स्वयंसेविका, शिक्षक, मिलन म्याग्दी तथा सुआरा कार्यक्रमका पदाधिकारी, कर्मचारीसहित ३३ जनाको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटनसत्र गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाको अध्यक्षता, कार्यकारी सचिव राजेन्द्र आचार्यको सञ्चालन र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply