पोखरामा फार्मेसीको छड्के अनुगमन, मास्कको कालोबजारी !

0

कोरोना भाइरस संक्रमणको त्रासले बजारमा औषधि पसलले मास्कलाई अधिक महंगो मूल्यमा समेत बिक्री गरेको गुनासो आउन थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अगुवाईमा छड्के अनुगमन गरिएको छ। अनुगमनको क्रममा गडण्की वरी फार्मेसी, महेन्द्रपुलको स्याङजा मेडिकल हल र पस्र्याङको अतिष मेडिकल फर्मामा महंगो मूल्यमा मास्क बेचिरहेको अनुगमन टिमले फेला पारेको थियो।

१० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४ सय ५० रुपैयाँमा बिक्री गरेको पाइएको अनुगमन टोलीका सदस्य समाजिक विकास मन्त्रीका स्वकिय सचिव प्रकाश पौडेलले बताए । उनका अनुसार अधिक मूल्य असुल्ने मेडिकललाई बन्द गराएर शुक्रबार प्रशासनमा हाजिर हुन निर्देशन दिइएको छ । फार्मेसीले आफन्त र चिनजानका बाहेक अरुलाई मास्क बिक्री गर्न समेत छाडेका छन्।

अनुगमनको क्रममा पौडेलले ४ सय ५० रुपैयाँमा मास्क किनेर बिलसहित फार्मेसीमा छापा मार्न पुगेका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल लगायतको उपस्थिती रहेको थियो । अनुगमन टोलीले मुल्यभन्दा धेरै लिएर माक्स विक्री गरेको जानकारी दिएमा नाम गोप्य राख्ने भन्दै अपिल समेत गरेको छ ।

Leave a Reply