यूरोपेली राष्ट्र फ्रान्समा रहेर म्याग्दीका विपन्नको उपचारमा सहयोग गर्ने मोना फ्रान्सका संस्थापक अध्यक्ष हेम बानियाँ र सदस्य पुनम केसी बानियाँलाई सम्मान गरिएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा म्याग्दीका गरिब तथा विपन्नको उपचारमा निरन्तर सहयोग गदैं आइरहेको कोषलाई भविस्यमा समेत सहयोग गर्ने संस्थापक अध्यक्ष बानियाँले प्रतिबद्धता जनाएका थिए । उनले कोषमार्फत भइरेका गतिविधिले मानवीय सहकार्यको नमुना प्रस्तुत गरेको समेत बताए ।

फ्रान्समा रहेका म्याग्देलीलाई मोनामा आवद्ध गराउन बानियाँले खेलेको भूमिकाको कार्यक्रममा प्रशंसा गरिएको थियो । आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषको सरक्षक सदस्यता लिदैं मोना फ्रान्सले आजिवन सदस्यता मार्फत संकलन गरिएको ३ लाख यस अगाडी नै हस्तान्तरण गरिसकिएको छ ।

सम्मान कार्यक्रमको अवसरमा संस्थागत गतिविधिलाई सहयोग गर्न कोषको कार्यालय ब्यवस्थापनलाई ६ हजार आर्थिक सहयोग समेत हस्तान्तरण गरेका थिए । कोषले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएका म्याग्देलीको उपचारलाई सहज बनाउन विश्वभर सहयोग प्राप्त गरिरहेको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

उनले १ करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट नियमित सहयोग गर्न सहज हुने बताए । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।

प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगबाट ग्रसित करिव १ सय ६९ जनालाई सहयोग गरिसकेको छ । सम्मान कार्यक्रमको अध्यक्षता शाक्य, स्वागत प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव लोकेश पुन मगरले गरेका थिए ।