हरिकृष्ण गौतम/ म्याग्दीबाट राष्ट्रिय राजनीति, निजामति, सामाजिक तथा अन्य विधामा राष्ट्रिय पहिचान बनाउने फाटफुट देखिएपनि नेपालको भूगोल बाहिर म्याग्देलीको पहिचान कमजोर छ । विश्वभर को कुरा त परै छोडौ सार्क राष्ट्रभित्र पनि म्याग्देलीलाई चिनाउने औलाभित्र मात्रै सिमित छन् । म्याग्दीको विकट गाउँमा जन्मिएर, हुर्किएर खेलकुदमार्फत नेपालको झण्डा विश्वसामु फरफराएका छन् चार म्याग्देली चेलीले ।

खेलकुद विधामा म्याग्दीलाई विश्वसामु चिनाउने म्याग्देली चेलीमा अरुणा शाही, तारोदवी पुन, कमला पुन र विन्दु पुन मगर हुन् । उनीहरूले राष्ट्रिय प्रतियोगितामा एकछत्र राज मात्रै गरेका छैन् नेपाललाई विश्वमा खेलमार्फत पदक दिलाएर नेपालीको शीर उच्च बनाएका छन् । ११० औँ अन्तराष्ट्रिय नारीदिवसको अवसरमा राष्ट्रलाई समुन्द्रपारीका देशहरूमा चिनाउने म्याग्देली चेलीको बेनीअनलाइनमार्फत चर्चा गर्दछौ ।

केही महिना अगाडी सम्पन्न भएको दक्षिण एसियाली खेलकुद (साग) मा भलिबलमा पहिलोपटक फाइनलमा कडा प्रतिस्पर्धाबाट पराजित भएको नेपाली टोलीको नेतृत्व रघुगंगा गाउँपालिका वडा नं ३, पिप्लेकी अरुणा शाहीले गरेकी छन् ।

उनकै नेतृत्वमा पहिलोपटक नेपालले अन्तराष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिताको उपाधी जितिसकेको छ । सोही टोलीमा मालिका गाउँपालिका–३, रुमकी कमला पुन समेत छिन् । नेपालले सार्क भलिबलमा रजत पदक मात्रै जितेको छैन् । दक्षिण एशियाली भलिबलमा आफ्नो फरक पहिचान स्थापित गरेका छन् । निकै बलियो मानिएको भारतलाई पन्छाउन नसकेपनि नेपाली टोलीको खेलबाट भारतका खेलाडी चकित परेर फर्किए।

भारतसँगको खेलमा रजत पदक जित्दै गर्दा शाहीको नेतृत्वमा महिला भलिबलको इतिहासमै स्वर्णिम अक्षरले लेखिने गरी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको ट्रफी नेपालमा भित्रिएको छ ।

२०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी भलिबलकी क्याप्टेन शाहीसँगै अन्य विभागीय टोलीको बचस्व तोड्न सफल नेपाल प्रहरीको महिला भलिबल टोलीको लिफ्टर पुन महिला भलिबलका खम्बा हुन् ।

उता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानकी तारादेवी पुनलाई विश्वमा नेपालकी स्ट्रङगेष्ट वुमेनको उपले चिन्ने गरिन्छ । वि.श २०५८ सालबाट भारोत्तोलनमा प्रवेश गर्नुभएको पुनले राष्ट्रिय स्तरका सबै प्रतियोगितामा स्वर्ण गुमाउनुपरेको छैन् । राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक स्वर्ण जितेकी तारा १५ वर्षदेखिकै विजेता छिन् । उनले ११ औ सागबाट नियमित सहभागिता जनाउँदै आएकी छन् । ११ औ सागमा किनेको जुत्ता लगाएर १३ औ सागमा काँस्य जितेकी थिईन् ।

मार्सल आर्ट अन्तरगतका खेलमा मंगला गाउँपालिका–२, बावियाचौरमा विन्दु पुनमगरले उसुतर्फ नेपाललाई निरन्तर पदक दिलाइरहेकी छन् । उनी सहभागी हरेक अन्तराष्ट्रिय खेलमा रजत पदक जित्ने गरेकी छन् । कराँतेमा समेत राम्रो खेल देखाउन सफल विन्दुले उसुबाट भविस्य चम्काउँदैछिन् । म्याग्देली खेलाडीले नेपालबाट सहभागी हुने विभिन्न खेलमा सहभागी भएका म्याग्दी जिल्लाको परिचय जोडिएका खेलाडीहरु रित्तो हात फर्किनु परेको छैन् ।