म्याग्दी जिल्लामा पछिल्ला केहीबर्ष यता मृगौला खरावीका बिरामी ह्वात्तै बढेका छन् । जिल्लामा उपचारको अभावले मृगौला रोगबाट पीडित बिरामी नियमित डायलासिस गर्न जिल्ला बाहिर र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको भने अव अन्त्य हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरण सहिज बजेट विनियोजन गरेपछि आगामी चैत्र महिनाबाट जिल्लाबाटै मृगौला उपचारका लागि डायलासिस सेवा सुरू गरिने भएको हो । गण्डकी प्रदेशले उपलब्ध गराएको ४ वडा मेसिन र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेसिन रहेको अस्पतालमा हेमोडायलासिस युनिट स्थापना गरिएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताए । ‘विपन्न बिरामीले अव चर्को मुल्य तिरेर जिल्लाबाहिर धाउनु पर्ने छैन्,‘तीनदिनभित्र उपकरण जडान भइसक्छ’ कुटवालले भने ।उनले यूनिटमा चिकित्सक, स्टाफ नर्स सहितको जनशक्ती समेत ब्यवस्थापन भइसकेको बताए ।डायलासिस युनिटलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा ब्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट बाहेक अस्पतालको आन्तरिक स्रोतलाई समेत परिचालन गर्ने बताए । पहिलो चरणमा ३ वटा बेड सञ्चालनमा ल्याउने बताए । एकदिनमा ६ जना बिरामीले सेवा लिन सक्ने भएकाले ६ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने बताए ।

जिल्लामै डायलासिस सेवा आउने भएपछि बिरामीले निवेदन समेत दिन थालेका छन् । सेवा सुरू भएको ६ महिनापछि आवश्यकता अनुसार बिहान, दिउँसो र सााझ समेत सेवा दिने योजना रहेको बताए । हाल प्रशासनिक कामका लागि प्रयोग भइरहेको भवनको भुईतलाको संरचना प्रयोग गरिएको छ । अपाङ्ग मैत्री भवन भएकाले उपचारमा सहज हुने बताइएको छ । अस्पतालमा उपचारका लागि आउने विपन्न बिरामीलाई डायलासिस सेवाले सहज हुने भएको छ । मिर्गौलापीडित बिरामीहरु अधिकांसको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कार्यालय सचिव एवम् मृगौला प्रत्यारोपण गरेका मंगला गाउँपालिका–१ कुहुँका डकबहादुर रोकाले बताए ।

‘उपचारका लागि बाहिर जान नसक्ने अवस्थाका धेरै बिरामी छन्,‘यो सेवाले बिरामीलाई बरदान सावित हुनेछ’ उनले भने ।उनले म्याग्दीका मृगौला पीडितले प्रत्यारोपण बाहेकको सेवा जिल्लामै पाउने भएपछि मृगौला प्रत्यारोपण गरेकाले समेत प्रचारप्रसार गर्ने बताएका छन् । आर्थिक अभावका कारण डायलासिसका लागि जिल्ला बाहिर जान नसक्ने बिरामीले मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएकाहरूले यो सेवाबाट बढी लाभ लिन पाउनेछन् । मृगौला रोगका बिरामीको किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ । साविकको धौलागिरी अञ्चलका चार जिल्लामध्ये क्षेत्रीय अस्पताल बागलुङ र पर्वत अस्पतालमा यसअगाडी नै सेवा सञ्चालन भइसकेको छ ।

बेनी अस्पतालमा सेवा सुरू भएपछि छिमेकी मुस्ताङ जिल्ला र पर्वतको जलजला गाउँपालिकाका बिरामीलाई समेत सहज हुने छ । मृगौलाका बिरामीले हप्ताको १ देखि जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डाइलासिस गराउँदा यातायात, खानाबस्न सहित गरी ८ हजार भन्दा बढी रूपैयाँसम्म खर्च हुन्छ ।

विज्ञापन