स्याबास कृष्णबहादुर !

0

(अमृत भादगाउँले)  म्याग्दी खोला र कालीगण्डकीको दोभानमा छ–बेनीबजार । बजारमा किसिम किसिमका मान्छेको बसोबास छ । ति मान्छेको हुलमा छुट्टै पहिचान बनाएका छन् कृष्णबहादुर खत्रीले । एक पछि अर्को संघर्षका पहाड छिचोलेर अघि बढिरहेका भुइँमान्छे हुन् उनी ।

हुलाकचोकमा रहेको ‘खत्री इलेक्ट्रोनिक्स’का सञ्चालक हुन् उनी । प्राविधिक पनि । त्यो इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल्स वर्कसपमा उनलाई भ्याईनभ्याई हुन्छ । श्रीमती रीता, भाई र अर्का एक मिस्त्रीसँग मिलेर उनी रेडियो, टिभी, एसी, फ्रिज, जेनेरेटर, इन्जिन आदि मर्मत गर्छन् । त्यति मात्र होइन, अचेल उनी कृषि यन्त्रहरू मिनि टेलर, थ्रेसर लगायत मेशिन पनि बेच्छन् । मर्मत पनि गर्छन् ।

उनको परिवार पसिनाको कमाईमा रमाउँछ । कर्म गरे फल मिल्छ । उनले पौरखले बेनीबजारमा घडेरी किने । घर बनाए । स्यानो तर चिटिक्क घर । उनले आफैं डिजाइन गरेर फलाम, प्लाई र काठबाट घर बनाएका । घरको विषयमा उनको आफ्नै तर्क छ । ‘हाम्रो जिन्दगी भनेको अस्थायी हुन्छ । बाजेले बनाएको घरमा बुबा धेरै वर्ष बस्नु भएन । बुबाले बनाएको घरमा पनि म धेरै वर्ष बसिनँ ।

मैले बनाएको घरमा पनि मेरा बच्चाबच्ची धेरै वर्ष बस्ने छैनन्’, छरितो घर बनाउनुको कारणबारे खत्री भन्छन्, ‘महँगो मूल्यमा किनिएको जग्गामा महँगो मूल्यमा घर बनाउन ऋण खोज्नु प¥यो भने टाउकोमा भार थपिन्छ । त्यसैले थोरै खर्चमा घर बनाएँ ।’

खत्री भर्खर ३६ वर्ष पुरा भए । बजारको घरमा श्रीमती र छोराछोरी सहित सुखपूर्ण जिन्दगी बाँचिरहेका छन् । गरिब परिवारमा जन्मे÷हुर्केका उनले जीवनमा धेरै आरोह÷अवरोह पार गरेका छन् । उनको जीवन कथा उधिन्ने हो भने एउटा उपन्यास नै बनाउन सकिन्छ ।

उनी मुस्ताङमा जन्मिए । त्यतै हुर्किए । तिनताका उनका बुबा र आमा मुस्ताङमै सामान्य जागिरे थिए । उनी ७ वर्षको हुँदा एउटा दुर्घटना भयो, आमा र बुबाको सम्बन्ध विच्छेद भयो । त्यसपछि बुबाले उनी र बहिनीलाई बेनीमा ल्याए । अनि कृष्णबहादुरले कहिले मल्लाजमा, कहिले पुलाचौरमा त कहिले बेनीमा पढे ।
बेनी आएपछि बुबाले अर्की विवाह गरे ।

अर्की आमाबाट पनि तीन सन्तान भए । आम्दानी कम, खर्च बढी हुँदा परिवार धान्न गाह्रो भयो । त्यसैले बेनीबजारको प्रकाश माविमा कक्षा ८ मा हुँदा उनको पढाई छुट्यो । उनलाई लाग्यो, ‘पैसा बिना जिवन चल्दो रहेनछ । पैसाकै लागि संघर्ष गर्नु पर्दो रहेछ ।’बालखमै उनले मजदूरी गरेर बुबालाई सघाउन थाले । उनले बेनीका व्यापारीका घरमा बसेर मजदुरी गरे । आफ्नो परिवारलाई भरथेग गर्न मद्दत पु¥याए ।

यता कालीगण्डकीमा पानी बगिरह्यो । समयसँगै उनी बढ्दै गए । सानैदेखि टेक्निकल दिमाग थियो उनको । १४ वर्षको उमेरमा हाउस वायरिङ गर्न सिपालु बनिसकेका थिए । डेढ वर्ष वायरिङ गरेपछि खाडीमा काम गर्ने मोह पलायो । नागरिकताको प्रमाणपत्रसँगै पासपोर्ट बनाएर हान्निए कतारमा । तीन वर्ष उतै बसे । घरमा खाना पकाउने स्टोभ पक्डेर बुबा बितेको खबर सुनेपछि हतारिँदै नेपाल आएर काजक्रिया गरे । अनि कतारै फर्के । केही महिना त्यहाँ पुन काम गरेर नेपाल आए ।

सुरुमा उनले सहयोगी इलेक्ट्रिसियनका रुपमा कतार पस्न चाहेका थिए । उता पुगेर गाडी धुने काम गर्नु प¥यो । त्यहाँ उनको मन रमेन । केही समय काम गरेपछि त्यही मालिकको कार मर्मत गर्ने ग्यारेजमा सरे । ‘त्यहाँ मैले मेकानिकल काम सिकें । गाडीको वायरिङ गर्नेदेखि चक्का मर्मत गर्नसम्म जानें’,उनी सुनाउँछन्, ‘म जिज्ञाषु थिएँ । गाडीको इन्जिन खोलेर बनाउन सक्ने मिस्त्री पनि बनें ।’

त्यसो त बाल्यकालदेखि नै उनको दिमाग तेज थियो । टेक्निकल थियो । पर्यटकले टाउकोमा हेडलाइट बालेको देखेर उनले आफ्नो टर्चलाइटलाई काटेर त्यसमा तार जोडेर रबरले बाँधीवरी हेडलाइट बनाएका थिए । उनी छाता बिगारेर बच्चाको प्यारासुट बनाउँथे । त्यसैले कक्षा कोठामा शिक्षक सञ्जय श्रेष्ठहरू भन्थे, ‘राम्रोसँग पढ्यौ भने धेरै ठूलो इन्जिनियर बन्ने छौं ।’

उनी नेपाल फर्केपछि पारिवारीक बोझ बढ्यो । भर्खर लोर्के जवानीमा थिए, बिहे गर्ने दबाब आयो । उनले नाइँनास्ती गरेनन् । २१ वर्षको उमेरमा रीतासँग वैवाहिक बन्धनमा बाँधिए । उनीहरूका १३ र ११ वर्षका सन्तान छन् । उनीहरू पढ्दैछन् । जीवनसँगी चाहिँ कृष्णबहादुरको होस्टेमा हैंसे गर्छिन् ।

बिहे गरेर फेरी विदेश जाने मुडमा थिए । त्यसका लागि उनीसँग व्याबहारिक सिप त थियो तर आबश्यक प्रमाणपत्र थिएन । त्यसैले पोखरा झरेर टे«निङ इन्स्टिच्यूटमा ९ महिने इलेक्ट्रिकल तालिम लिए । सिटिइभिटीको स्किल टेष्टमा पनि उर्तिण भए ।

अब उनी अमेरिका र कोरिया जाने दौडमा होमिए । तर, सफलता मिलेन । अन्त्यमा आफ्नै मुलुकमा पसिना चुहाउने टुँगोमा पुगे । र, विसं २०६५ मा वर्कसप खोले । वर्कसप खोलेपछि फर्केर हेर्नु परेको छैन । उनी बेलाबेलामा नयाँनयाँ सृजना गर्छन् । प्रविधिको प्रयोगले समाजलाई सजिलो बनाउने अभियानमा छन् । उनका सृजनाको डिमाण्ड बढ्दो छ ।

उनले बनाएका सामान विदेशी कम्पनीले बनाउने भन्दा सस्ता छन् । जस्तो कि उनले बनाएको जस्तो हयाचिङ मेशिनको डेढलाख रुपैयाँसम्म पर्छ । ‘म ३० हजार रुपैयाँमै बनाइदिन्छु’, उनी भन्छन्, ‘पुरानो फ्रिजको बाकसमा आबश्यक सामान राखेर बनाउँदै आएको छु ।’हाम्रो मुलुक जलश्रोतमा धनी छ । त्यसैले हामीले विद्युतिय सामाग्रीको प्रयोग बढाउनु पर्छ । सरकारले पनि यस्ता सामाग्रीलाई सहुलियत दिनु पर्ने उनको सुझाब छ ।

फर्केर हेर्दा आफ्नै जीवनकथा अनौठो लाग्छ । उनी आफ्नो व्यबाहारिक ज्ञान विद्यार्थीलाई बाँड्न चाहन्छन् । त्यसका लागि टेक्निकल इन्स्टिच्यूट सञ्चालन गर्ने तयारीमा छन् । यतिबेला एउटा कुराले उनलाई खुसी तुल्याएको छ–राष्ट्रिय आबिष्कार केन्द्रको खबरले । ‘महाबीर पुनको परियोजनाले टेक्निकल माइण्ड भएका बालबालिकालाई बैज्ञानिक बनाउन मद्दत गर्दछ’, उनी भन्छन्, ‘धनी गरिब दुवै परिवारका सदस्यमा क्षमता हुन्छ भन्ने सत्यलाई बुझेर प्रोत्साहन गरौं।’

आबिष्कार केन्द्र जस्ता संस्था भएर मात्र पुग्दैन, स्वदेशमै श्रम र सिपको सम्मान पनि हुनु पर्छ । हातमा सिप भएका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राज्यले प्रतिभाशालीलाई रोजगारीको ग्यारेण्टी गर्नु पर्छ ।
अन्त्यमा, हिजो कृष्णबहादुर गुमनाम थिए । आज निरन्तर लगनले सबैको स्याबासी बटुलिरहेका छन् । धेरैको प्रेरणाश्रोत बनेका छन् । कालीगण्डकी र म्याग्दी खोला झैं गति झैं उनको सक्रियता बढिरहोस् । धेरैधेरै शुभकामना !ं

वाटर लिफ्टिङ : –गहिरो ठाउँबाट अग्लो ठाउँमा वाटर लिफ्टिङ गर्ने प्रविधि नयाँ होइन । पानी तान्नु अघि र बन्द गर्ने बेलामा अपरेटरको सहयोग चाहिन्छ । तर, उनले डाँडामै बसेर मोबाइल एप्सको सहाराले त्यसलाई खोल्ने र बन्द गर्ने सुविधा विकास गरे । उनले म्याग्दी खोलाबाट लभ्ली हिलमा त्यसको सफल परिक्षण गरेर सबैलाई चकित बनाइदिए ।

हयाचिङ मेशिन: –उनले स्थानीय श्रोत साधन जोहो गरेर अण्डा कोरल्ने मेशिन बनाएका छन् । मेशिनले नै आवश्यकता अनुसार अण्डा चलाउँछ । आबश्यक तापक्रम मिलाउँछ । चल्ला निक्लने दिन मान्छेले चल्ला निकाले पुग्छ। उनले बनाएको हयाचिङ मेशिनमा एकैपटक ५० वटा अन्डा कोरल्न सकिन्छ । उनी २५० वटा अण्डा क्षमताको मेशिन बनाउँदै छन् ।
चरा धपाउने यन्त्र–सुन्तला पाक्ने बेलामा चराले खाने समस्याले किसानहरू हैरान हुन्छन् । त्यसैले किसानलाई सजिलो होस् भनेर उनले चरा धपाउने यन्त्र विकास गरेका छन् ।

Leave a Reply