चट्याङ कसरी पर्छ र यसबाट कसरी जोगिने ?

0

बर्खायाम सुरु भएसँगै दैनिक रुपमा चट्याङ परिरहेको हुन्छ । चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि जस्ता समस्या उत्पन्न हुन्छ ।

चट्याङ के हो ?

चट्याङ वातावरणमा हुने प्राकृतिक प्रकृया मध्येको एक हो । अकाशबाट जमिनतर्फ खस्ने एक विद्युतीय प्रवाहलाई चट्याङ भनिन्छ । दुई वटा विद्युतीय चार्जहरूबीचको घर्षणबाट उत्पन्न हुने प्रकाश,ताप र ध्वनिको प्रवाह चट्याङ हो ।

वर्षायाममा वायुमण्डलमा विपरित दिशाका तीव्र गतिको वायु एक आपसमा ठोक्किदा वा घर्षण हुँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो ।

कसरी हुन्छ घर्षण ?

सूर्यको तापक्रमले जमिनको सतहको तापक्रम पनि बढ्छ । यसले गर्दा पृथ्वीको सहतमा रहेको समुन्द्र, नदी, ताल, महासागरआदिबाट वाष्पीकरण विधिबाट पानीका कणहरू माथितिर उढ्दै जान्छन् । बादल जति जति माथि पुग्दै गयो त्यति नै गह्रौ हुँदै जान्छ । र बादलमा परिणत हुँदै जान्छ । यसरी धेरै नै माथि पुगेपछि अत्यधिक चिसोले गह्रौ भएको बादल तलतिर खस्न थाल्छ ।

यस्तो अवस्थामा तलबाट माथितिर गइरहेका अन्य पानीका कणहरूसँग ठोक्किन पुग्छ र घर्षण उत्पन्न हुन्छ । यसरी तलबाट माथितिर जाने बादलमा हुने ऋणात्मक चार्ज र माथितिरबाट तल झर्ने धनात्मक चार्जबीचको ठक्करले करेन्ट पैदा हुन्छ र चट्याङ बन्छ ।

चट्याङका प्रकार

चट्याङ सामान्यतया तीन प्रकारको हुन्छ ।

१) बादलभित्रै उत्पन्न हुने वा बादलभित्रै रहने चट्याङ – यो चट्याङ एउटै बादलभित्रका कणहरूबीच घर्षण भइ उत्पन्न हुन्छ । यस्तो चट्याङ बादलभित्रै हुने भएकाले जमिनसम्म आइपुग्दैन

२) बादल बादलबीचको चट्याङ – यो चट्याङ बादल–बादलबीच सामान्य ठक्करबाट उत्पन्न हुने चट्याङ हो यो पनि सामान्यता जमिनसम्म आइपुग्दैन

३) बादल र जमिनबीचको चट्याङ – बादलबीचको ठक्करबाट उत्पन्न भएर जमिनसम्म आइपुग्ने चट्याङलाई बादल र जमिनबीचको चट्याङको रुपमा लिन सकिन्छ । यो निकै नै खतरनाक हुन्छ ।यो पनि दुई प्रकारको छ । एउटामा बादलको तल्लो भागमा रहेको ऋणात्मक चार्ज जमिनतिर पर्छ भने अर्को माथिल्लो भागबाट धनात्मक चार्ज जमिन तर्फ खस्छ ।

सामान्यतया एक पटक पर्ने चट्याङमा पाँच हजारदेखि २ लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह हुने बताउँछन् चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा । उनका अनुसार बादलको तल्लो भागमा रहेको ऋणात्मक चार्जमा कम र माथिल्लोको धनात्मक चार्जमा धेरै विद्युतीय प्रवाह हुन्छ ।

चट्याङको असर

सामान्यतया चट्याङ लागेका जनावर वा मानिसको मृत्यु भएको पाइन्छ । तर चट्याङमा परेर मर्ने मात्र होइन धेरै मात्रामा घाइते पनि हुने गर्दछन् । चट्याङ विशेषज्ञ शर्माका अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन् ।

कोही बेहोस हुन्छन, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ ।

चट्याङबाट बच्ने उपाय

हुन त चट्याङ प्राकृतिक कुरा हो कहाँ कहिले पर्छ सजिलै थाहा पाउन सकिँदैन । तर पनि चट्याङ परेको बेलामा केही सावधानी अपनाउन सकिने हो भने यसको क्षतिबाट बच्न सकिन्छ । चट्याङविद शर्मा यसको क्षतिबाट बच्च यस्ता सुझाव दिन्छन् ।

  • पानी परेको समयमा सकभर घरबाहिर ननिस्कने ।
  • घर बाहिर भएसकेसम्म चाँडो गरी घरभित्र बस्ने ।
  • घरका विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि चट्याङ परेको समयमा प्रयोग नगर्ने ।
  • दिनको तीन बजेदेखि राती आठ बजेसम्म चट्याङ पर्ने हुनाले उक्त समयमा सकेसम्म घरबाहिरका काम नगर्ने घरभित्रै बस्ने ।
  • यदि बाहिर भएर घर जान नसक्ने अवस्था भएमा सानो सानो रुखहरूको छेवैमा रुखको उचाइ बराबरको दूरीमा टुक्रुक्क बस्ने ।
  • यदि ठूला रुख आसपासमा भए सकभर त्यसबाट टाढै रहने ।
  • चट्याङ लागेर कोही घाइते भए तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्र लैजाने । Source: जनतापाटी

Leave a Reply