म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख घर भएका डा.पर बहादुर पुनले अष्ट्रेलियामा रहेका म्याग्देलीलाई कोरोना भाइरस सम्बन्धी सचेतना अभियानमा सक्रिय छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको कारण त्रास उत्पन्न भइरहेको अवस्थामा आवश्यक रोकथाम तथा जनचेतनामुलक कार्यक्रममा डा. पुनले म्याग्देली सँग सहकार्य गरी अभियानमा जुटेका छन् ।

लामो अमेरिका बसाईपछि अष्ट्रेलियामा कार्यक्षेत्र बनाएका डा. पुनले म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा कोरोना भाइरसको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन् । भाइरसका बारेमा सचेत बन्दै नेपाली नागरिकलाई सचेत बनाउनुपर्ने बताए ।

म्याक्वेरी विश्वविद्यालय अस्पतालमा अष्ट्रेलियामा कार्यरत प्याथोलोजिष्ट डा. पुनले सामाजिक सञ्जालमा भाइरल भइरहेका साम्रागीहरूलाई ध्यान नदिन समेत अनुरोध गरेका छन् । सामान्य रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भन्ने डर हटाउनुपर्ने बताउँदै परामर्श लिने र कम्तिमा सात दिन घरमै बस्नु पर्ने बताए ।

सचेतनामुलक कार्यक्रममा क्वारेनटाइन भनेको के हो ?, घरमा सेल्फ क्वारेनटाइनमा बस्दा ध्यान दिनुपर्ने गतिविधि,ज्वरो आउनु, लगातार खोकी लाग्ने, स्वास प्रस्वासमा समस्या देखिएमा तत्कालै अस्पतालमा पुगेर उपचार गर्नुपर्ने लगायत विभिन्न विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा अष्ट्रेलियामा पारिवारिक भेटघाटमा पुगेकी म्याग्दीको मंगला गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले पारिवारिक भेटघाटमा आएका नेपालीहरुलाई समेत सचेतनाको आवश्यकता रहेको बताईन् ।  सचेतनामुलक कार्यक्रममा मोना अष्ट्रेलियाका अध्यक्ष  मुक्ति रोकाले म्याग्देली माझमा भाइरसका बारेमा सन्देश पुग्ने गरी कार्यक्रम गर्ने बताए ।

सोही अवसरमा मोना अष्ट्रेलियाका कोषाध्यक्ष दिनेश खत्री र कार्यसमिति सदस्य एवम् मिडिया संयोजक हिक्मत श्रेष्ठले स्वास्थ्य सम्बन्धि जानकारी सहित विभिन्न आवश्यक योजनाका बारेमा बताएका थिए । मोना अष्ट्रेलियाले सबै क्षेत्रमा सचेतनामुलका कार्यक्रम सम्भव नभएपछि सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट सर्तकता अपनाउने गरी कार्यक्रम गर्ने जनाएको छ ।

उक्त कार्यक्रममा डा. पुनलाई धन्यवाद सहित सम्मान समेत गरिएको थियो । मोनाका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य र शुभचिन्तकको उपस्थिती रहेको थियो । मोना अष्ट्रेलियाले त्यहाँ रहेका म्याग्देलीलाई विभिन्न कार्यक्रम मार्फत जोड्ने गरेको छ । फुटबलमा नेपाली क्लवमै अग्रस्थानमा रहेको मोनाले खेलकुद बाहेक सामाजिक तथा अन्य कार्यक्रममा नेपाली संघसंस्थासँग समेत सहकार्य गर्ने गरेको छ । हरिकृष्ण गौतम