हरिकृष्ण गौतम/ गतबर्ष ३० हजार बहुउपयोगी सतुवाको बिरुवा बिक्री गरेर ६ लाख आम्दानी गरेका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँको नर्सरीमा यसबर्ष डेढ लाख बिरुवा बिक्रीका लागि तयारी अवस्थामा छन् । तीनवटा टनेलमा उत्पादिन सतुवा बिक्रीबाट झण्डै ३५ लाख आम्दानी हुने अनुमान छ ।

राम्रो आम्दानी हुने टिमुरसँगै सतुवा खेतीतर्फ आकर्षित भएका बानियाँले दुईबर्ष अगाडी इलामबाट १ लाख ११ हजारको एक केजी बिउ लिएर व्यवासायिक सतुवा खेतीमा लागेका हुन् । परिक्षण उत्पादन नै सफल भएपछि बानियाँले सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीपका साथै विभिन्न जिल्लामा पुगेर समेत जानकारी लिएको बताए।

‘टिमुर खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गरेको छु,‘माग अनुसारको बिरुवा पु¥याउन सकेको छैन्’ बानियाँले भने । उनका अनुसार नर्सरीमा उत्पादित डेढ लाख बिरुवा मध्ये १ लाख काभ्रे जिल्ला, २० हजार बागलुङ र ३० हजार रेडक्रस सोसाईटीले अर्डर गरिसकेको बताए । गतबर्ष बिक्री गरेको बिरुवा हुर्किएपछि थप माग गरेको बताउँदै आगामी तीनबर्षमा बार्षिक एक हजार बिरुवा बेच्ने योजना सहित अगाडी बढेको बताए। समुन्द्री सतहदेखि १५ सय मिटर माथि उचाइसम्म सतुवा खेतीका लागि उपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लागि उपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको कृषक बानियाँको भनाई छ। बानियाँ जिल्लामा सतुवाको ब्यवसायीक बिरुवा उत्पादन गर्ने नर्सरी एउटा मात्रै छ र बानियाँ पहिलो कृषक हुन् । बनजंगलमा संकलन गरी बिक्री गर्ने गरेको अवस्थामा बानियाँले घरमै नर्सरीमा बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउनेहरुको घुँइचो लाग्न थालेको छ। कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीलाई प्राथमिकतामा राखेर ३ रोपनी जमिनमा बिरुवा समेत लगाएका छन् ।

उनले पहिलोबर्ष ग्रीन हाउस निर्माण, जग्गाको माटो परीक्षण गरी बाहिरी जिल्लाबाट सतुवा ल्याएर लगाएका थिए । ‘इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सिके,‘सीप भए सतुवाबाट राम्रो कमाई हुने रहेछ’बानियाँले भने । उनले समुहमा प्रति बिरुवा ३५ रुपैयाँ र ब्यक्तिगत ५० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । उनका अनुसार बजारमा सतुवाको माग र मूल्य टिमुरको जस्तै उच्च छ ।

बानियाँले सतुवाको खेती गर्नुअघि रसुवा, संखुवासभा र इलाम पुगेर सतुवा खेती कृषि फर्ममा स्थलगत अवलोकन तथा आवश्यक तालिम लिइसकेका छन् । र सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ। बनजंगलमा पाइने सतुवाको आधुनिक खेतीलाई समुदायमा एकल वा सामुहिक रुपमा करिब १० रोपनी जमिनमा अब छिट्टै खेती गर्ने योजना रहेको कृषक बानियाँले बताए ।

बानियाँले आफ्नो सीपलाई समुदायमा र आवश्यकता परेमा जिल्लाभर सिकाउने बताए । यसैबीच जिल्लामा नमुना टिमुर कृषकको रुपमा चिनिएका बानियाँको दुईवटा टनेलमा ४० हजार टिमुरको बिरुवा छन् । उनले हरेकबर्ष ६ लाखभन्दा धेरै टिमुरको बिरुवा र टिमुर विक्री गर्ने गरेका छन् । एकबर्षमै ४० पाथी टिमुर घरबाटै बेच्ने गरेका बानियाँको खेतबारीमा रहेको बोटमा नफल्दै स्वदेश तथा विदेशबाट बुकिङ हुने गरेको छ । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आर्युवेदीक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि टिमुरको बजार एशियाली र यूरोपेली मुलुकमा समेत अत्याधिक माग रहेको छ ।