विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको कारण त्रास उत्पन्न भइरहेको अवस्थामा आगामी शनिबारदेखि म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्ड अनिश्चितकालका लागी बन्द गर्न लागिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि कुण्ड ब्यवस्थापन समितिले चैत्र ८ गतेदेखि अर्को सूचना जारी नगर्दा सम्म कुण्ड बन्द गर्ने निर्णय भएको कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।

बुधबार जिल्ला प्रशासन, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय र ब्यवस्थापन समितिको बैठकले सङ्क्रमण रोक्नको लागि केही हप्ता बन्द गर्ने राय ब्यक्त भएपछि शनिबारदेखि कुण्डमा स्नान गर्न रोक लगाइएको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए । उनले विश्वभर सार्वजनिक रुपमै भेला तथा भीडभाड नगर्न विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार नेपाल सरकारले जारी गरेको सूचनालाई आधार बनाएर निर्णय गरिएको बताए । कुण्डमा हाल करिव ३ सय बिरामीले स्नान गरिरहेका छन् ।

दैनिक ८ सय जनाको हाराहारीमा सर्वसाधारण तथा पर्यटकले स्नान गर्दै आइरहेको कुण्डमा फागुनको दोस्रो सातादेखि नै कोरोना भाइरसको त्रासले स्नान गर्ने बिरामी ह्वात्तै घटेका थिए । स्नान गर्न आउने बिरामीलाई माक्स सहित सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।