नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका म्याग्दीका कुविरकुमार श्रेष्ठ जिल्ला दौडाहमा निस्किएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले खुल्लातर्फको केन्द्रिय सदस्यमा अगाडी सारेको श्रेष्ठ सहितको टोलीले गण्डकी, बागमती र प्रदेश ५ अन्तरगत रहेका उद्योग वाणिज्य संघमा भेटघाट सहितको अभियान सुरू गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, कार्यसमिति सदस्य सुमन श्रेष्ठ लगायतको टोलीले भेटघाट सहित म्याग्दीलाई अभियानमा सहयोगको अनुरोध गरेका छन् । भेटघाटको क्रममा म्याग्दी उद्योग बाणिज्य संघमार्फत भइरेहका कामहरुमा बारेमा समेत जानकारी गराइएको थियो ।

भेटघाटमा अधिकांसले म्याग्दी उवासंघको उम्मेदवारीलाई खुल्ला रुपमै सघाउने प्रतिबद्धता जनाएका थिए । म्याग्दी उवासंघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठलाई महासंघको ५४ औ बार्षिक साधारण सभामा केन्द्रिय सदस्यको उम्मेदवारीमा मुस्ताङ, बागलुङ, पर्वतका साथै गण्डकी प्रदेशका अधिकांस उवासंघले प्रतिबद्धता जनाइसकेका छन् । म्याग्दी उद्योग वाणिज्य संघमा २०५८ सालमा प्रवेश गरेका श्रेष्ठ सदस्य, उपाध्यक्ष हुदै अध्यक्षमा निर्वाचित भएका थिए ।

श्रेष्ठको कार्यकालमा म्याग्दीमा एक जिल्ला एक उत्पादन अन्तरगत टिम्मुर खेतीको विस्तार गरिएको थियो । केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठले गण्डकी प्रदेश कार्यसमितिमा रहेर काम गरेको अनुभवलाई केन्द्रिय सदस्यमा समेत काम गर्ने सक्ने बताए।यसैबीच श्रेष्ठले चुनावी अभियानलाई समेत तिब्रता दिने बताए । उनले आफ्नो उम्मेदवारीले जिल्लालाई फाईदा हुने बताए ।