विश्वभर फैलिएको कोरोना भाइरसका कारण पर्यटकीय स्थल घोडेपानी सुनसान जस्तै बनेको छ। विश्व प्रसिद्ध अन्नपुर्ण चक्रीय पदमार्ग अन्तरगत पर्ने घोडेपानी, पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै घटेको छ ।

जिल्लामा भित्रिने पर्यटकको कुल संख्या मध्ये ५० देखी ६५ प्रतिशत पर्यटकको हिस्सा ओगट्ने गरेको घोडेपानी–पुनहिल क्षेत्रमा कोरोना भाइरसको त्रासले अहिले मुस्किलले २०–२५ जना पर्यटक समेत देखिन छोडेको होटल स्नो भ्युका सञ्चालक टेकसर बुदुजाले बताए ।

‘फाटफुट पर्यटक भित्रिएका छन्,‘सिजनमै पर्यटकको आगमन करिब सुन्य जस्तै हुने चिन्ता छ’बुदुजाले बेनीअनलाइनलाई भने। विगतका बर्षमा चैत्र महिनामा दैनिक ४ सयको हाराहारीमा विदेशी पर्यटक घोडेपानी क्षेत्रमा प्रवेश गर्ने गरेको भएपनि यसबषै बैशाख, जेठ महिनामा समेत पर्यटकको आगमन निराशजनक हुने पर्यटन ब्यवसायीको भनाई छ ।

समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिल अन्नपुर्ण पदमार्ग अन्र्तरगत धेरै पर्यटकको आर्कषक गन्तब्य मानिन्छ । कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक, म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै र नागी–महरेडाँडा, पोखरेबगर–पाँउद्धार शिख लगाएत नयाँ पदमार्गबाट समेत घोरेपानीमा पुग्छन् ।

मुस्ताङ र कास्कीबाट आएका पर्यटक दुईरातसम्म जिल्लाकै प्रमुख पर्यटकीयस्थल समेत मानिएको घोडेपानीमा विताउने गरेपनि विश्व नै कोरोना भाइरसको संक्रमणले ठप्प भएपछि प्रत्यक्ष असर म्याग्दीको पर्यटन क्षेत्रमा समेत देखिएको धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।

‘यो बर्षको सूरुवातमा धेरै पर्यटक भित्रिएकाले तथ्याङ्कमा केही कमी आउने भएपनि अबको केही महिना पर्यटन ब्यवसायमा ठूलो असर गर्ने छ’ अध्यक्ष बानियाँले भने । उनले आन्तरिक पर्यटक समेत घुम्न जाने अवस्था नभएकाले बताए । मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य पर्यटकका प्रमुख आर्कषण मानिन्छन् ।

यसैबीच जिल्लाको पश्चिम क्षेत्रमा पर्ने राउण्ड धौलागिरी लगायतका पर्यटक चहलपहल हुने क्षेत्र समेत सुनसान छ । म्याग्दीमा बर्षनी ५० हजारको हाराहारीमा पर्यटकले भ्रमण गर्ने गरेका छन् । शिब बोहोरा

File photo