निर्भया बलात्कार काण्ड : ७ वर्षपछि चारै दाेषीलाई एकसाथ दिइयाे फाँसी

0

भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिइएको छ । स्थानीय समय अनुसार शुक्रबार (आज) बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । तिहाड जेलका निर्देशक सन्दीप गोयलले भने, ‘बिहान ५ः३० बजे चारै जनालाई फाँसीमा चढाइयो ।’ समाचार एजेन्सी पीटीआईले जेलका अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘ती चारै जना दोषीलाई एकैसाथ फाँसी दिइएको हो ।’

निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्ता रहेका थिए । उनीहरुलाई यसअघि नै निर्धारित मिति अनुसार आज बिहान फाँसी दिइएको हो ।

सन् २०१२ मा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाको परिवारले ७ वर्ष ३ महिना ८ दिनपछि न्याय पाएका छन् । दोषीलाई फासी दिनु न्यायको जीत रहेको उनीहरुले बताएका छन् ।

फाँसीको सजायपछि निर्भयाका अभिभावकहरूले अदालत परिसरबाहिर मिडियासामु भने कि यो न्यायको विजय हो । निर्भयाकी आमाले यसलाई न्यायको जित भनेकी छिन् ।

यो न्यायको लडाइँमा आफूहरुले खेपेको हैरानी बताउँदै दोषीहरुलाई सात वर्षपछि फाँसी दिइएपछि निर्भयाका बुबाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानून हुनुपर्दछ, जहाँ जनताले न्यायका लागि लामो समय कुर्नु नपरोस् ।’

के थियाे घटना ?

सन् २०१२ डिसेम्बर १६ का दिन गुडिरहेको यात्रुबसमै फिजियोथेरापीकी छात्रा २३ वर्षीया निर्भयालाई ६ जनाकाे समूहले सामूहिक बलात्कार गरेको थियाे । साथै पीडित छात्राको केटासाथीलाई समेत निर्घात कुटपिट गरेर बलात्कारपछि छात्रा र उसको साथी दुबैलाई सडकमा फ्याँकिएको थियाे ।

२०१२ डिसेम्बर १२ का दिन मुख्य अभियुक्त र बसका चालक राम सिंह पक्राउ परे । केही दिनपछि उनका भाइ मुकेश सिंह, जिम प्रशिक्षक विनय शर्मा, फलफूल व्यापारी पवन गुप्ता, बसका सहायक अक्षय कुमार सिंह र एक १७ वर्षीया नाबालिगलाई पनि सो अभियोगमा पक्राउ गरियो ।

सोही डिसेम्बर २९ का दिन पीडित छात्राको सिंगापुरको एक अस्पतालमा उपचारको क्रममै मृत्यु भयो ।त्यसलगत्तै उनको लासलाई दिल्ली ल्याइएको थियो ।

त्यसपछि २०१३ मार्च ११ का दिन आरोपीमध्येका एक राम सिंहको तिहाड जेलमा संदिग्ध अवस्थामा मृत्यु भयो । प्रहरीले भने उनले आत्महत्या गरेको बताएको थियो । तर उनी पक्षका वकिल र परिवारका सदस्यहरूले भने हत्याको आरोप लगाएका थिए । सोही सालको अगस्ट ३१ का दिन बाल न्याय बोर्डले नाबालिग आरोपीलाई भने दोषी ठहर गर्दै तीन वर्षका लागि बालसुधार गृहमा राख्न आदेश दियो ।

त्यसपछि बाँकी रहेका चार अभियुक्तलाई आज फाँसी दिइएको हो । यसै साल मार्च ५ तारिखका दिन दिल्लीको एक अदालतले ४ वटै दोषीहरुलाई फाँसी दिनका लागि नयाँ मिति मार्च २० लाई तय गरेको थियो । त्यसभन्दा अघि मार्च ५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दले दोषीलाई फाँसी मिनाहा गर्न गरिएको पवन गुप्ताको दया याचना खारेज गरेका थिए ।

त्यसअघि मार्च २ मा फाँसी दिने मिति तय गरिएकोमा पवन गुप्ताले राष्ट्रपतिसँग दया याचिका पेश गरेपछि फाँसीको मिति स्थगित गरिएको थियो । त्यसबेला दिल्लीमा विधानसभा चुनाव पनि थियो र निर्भया केस ठूलो मुद्दाको रुपमा स्थापित थियो ।

Leave a Reply