विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीका सबै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ । तातोपानी कुण्ड रहेका बेनी नगरपालिकाको सिंगा, धवलागिरी गाउँपालिकाको गूर्जा र मुदीको बगर, रघुगंगा गाउँपालिकाको दर्मिजा तथा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका भित्र रहेका तातोपानी कुण्ड अनिश्चितकालका लागी बन्द गरिएको हो ।

अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित गाउपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकले कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई आकलन गर्दै अर्को ब्यवस्था नहुँदा सम्मका लागि पर्यटकीय स्थल भ्रमणमा रोक लगाउने र तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेको हो ।भुरुङ्ग, पाउद्धार, रातोपानी र दोवाको सेकार्कु तातोपानी कुण्डमा स्नानका लागि बन्द गराउने निर्णय कार्यान्वयनका लागि ठेक्का लिएका ब्यवसायीहरुलाई शुक्रबार नै पत्राचार गरिएको गाउपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताए । विदेशी नागरिक र धेरै ठाउँका मानिसहरुको जमघट हुने पर्यटकीय स्थल र तातोपानी कुण्डहरु रोजाईमा परेका थिए । अन्नपूर्णकै नारच्याङमा रहेको तातोपानी कुण्ड समेत विरामीलाई स्नान गर्न मिल्ने भएकाले त्यसलाई समेत बन्द गरिएको छ। कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले सार्वजनिक कार्यक्रम सहित मेलापर्व लगायतका विभिन्न कार्यक्रमहरु समेत बन्द गरेको छ । कुण्डमा स्नान गर्ने क्रममा बिरामी बिच एकआपसमा छोइने, विभिन्न रोगबाट संक्रमण फैलिन सक्ने भएकाले सतर्कताका लागि जिल्ला प्रशासन कार्यालयमार्फत नै बन्द गर्न समेत अनुरोध भएको थियो ।