बजारमा मास्कको कालोबजारी बढिरहेको बेला म्याग्दीका युवाहरुले मास्क उत्पादन सुरु गरेका छन्। इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब, नेपाल युवा परिषद् म्याग्दी र म्याग्दी जेसिजले संयुक्त रुपमा गुणस्तरीय मास्क उत्पादन थालेका हुन्।

नेपाल सरकारले कारोनाको बारेमा सचेत रहन आग्रह गरे सँगै म्याग्दीमा मास्क अभाव भइरहेको छ।  युवाहरुले दैनिक एक सय वटा मास्क उत्पादन गरेर बजारमा वितरण गर्न सुरु गरेका ब्याचलर्स क्लबका अध्यक्ष दिनेशकुमार विश्वकर्माले जानकारी दिए।

उनका अनुसार हाल २ जनाले नियमित रुपमा मास्क निर्माण गरिरहेका छन्।‘हामीले उत्पादन गरेको मास्क जिल्ला अस्पताल म्याग्दी र जिल्ला प्रशासन कार्यालयले मेडिकल मास्क सरहको मान्यता दिएको छ’, नेपाल युवा परिषद् म्याग्दीका अध्यक्ष छवि आचार्यले बताए। स्थानीय रुपमा उत्पादन गर्न आचार्यका अनुसार प्रतिमास्क २० देखि ३० रुपैयाँमा बिक्री हुने गरेको छ।