जिल्लाको मंगला गाउँपालिका–५, अर्मनका यूवाहरूले जनचेतनामुलक कार्यक्रमसँगै लास जलाउन जानसमेत घाटसम्मको बाटो निर्माण तथा मर्मत गरेका छन् । विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको अवस्थामा सृजना यूवा क्लवको पहलमा आरुखोला देखि दोभिल्ला सम्म जाने बाटो बनाइएको क्लवका सचिव जगत बानियाँलो बताए । ‘लास जलाउन जानसमेत अप्ठ्यारो थियो,‘विदाको मौका छोपी गाउँको विकास निर्माणमा सघाएका छौ’ बानियाँले भने । उनले ३० मिटर अप्ठ्यारो निर्माणका साथै अन्य स्थानमा मर्मत गरिएको बताए । श्रमदानमा बालबालिका, यूवा, महिलाहरुको समेत उपस्थिती रहेको थियो । अर्मनको पाखु, पिपलबोट, कुर्सिमलाको ५० जनाको उपस्थितिमा बाटो निर्माण गरिएको थियो । यूवाहरुले यसअगाडी कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालन गरेको क्लवका अध्यक्ष भुपेन्द्र कँडेलले बताए।उनले कोरोना भाइरसको सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तर तिब्रता दिने बताए । त्यस्तै समुदायमा रहेका महिला तथा यूवाका आवश्यकताहरुलाई केन्द्रित गरी विभिन्न कार्यक्रमहरु बनाउने बताए । एक महिना अगाडी स्थापना भएको क्लवले समुदायमा आवश्यकता अनुसारका कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ ।