Lisbon, Portugal Skyline at Night

 छविलाल बगाले/यूरोपकेही दिनअघि पोर्चुगलको फारोस्थित एक कृषि कम्पनीमा कार्यरत ७४ नेपालीमा कोरोनाको संक्रमण भई क्वारेन्टाइनमा राखिएको खबर बाहिरिएपछि नेपाली समुदायमा त्रास फैलियो । ढिलागरी पोर्चुगल छिरेको कोरोनाबाट सजग नभएकाहरु पनि यो खबरले थप चनाखो बने । ७४ जना नेपाली संक्रमित भएको खबर पोर्चुगलमा मात्रै नभई नेपालसँगै यूरोपका हरेक देशमा रहेका नेपाली अनलाइनदेखि पत्रपत्रिका र टेलिभिजनमा पनि प्रकाशित भए । यति मात्रै होइन् पोर्चुगलका आधिकारिक संचारमाध्यमले पनि ७४ नेपाली नै क्वारेन्टाइनमा रहेको भन्दै एकोहोरो रुपमा समाचारहरु सम्प्रेषण गरे ।

घटना घटेको थाहा पाएपछि व्यवसायी एवं समाजसेवी कमलमान गुरुङ र दोभासे कमल भट्टराई घटनास्थलमा पुगे । दुवैजनाले घटनास्थलमा ७४ जना नेपाली नभई तीनजना क्वारेन्टाइनमा रहेको र एक जनाको अस्पतालमा उपचार भइरहेको भन्दै आफ्नो फेसबुकमार्फत लाइभ गरे । तर उनिहरुको यो कुरा कसैले मान्न तयार भएनन् र घटनाको विषयमा उल्टै राजनीति गरेको आरोप घटनास्थल पुगेका गुरुङ र भट्टराईले खेप्नुपऱ्यो ।

वास्तविकता बुझ्न हामीलाई निकै गाह्रो पऱ्यो । पोर्चुगल सरकारले आपतकालिन घोषणा गरेपछि हामी पनि घटनास्थलसम्म पुग्न सकेनौं । फोन र सामाजिक संजालमार्फत घटनाको वास्तविकता बुझ्ने प्रयास गऱ्यौँ । फारो पुगेर फर्किएका व्यवसायी गुरुङले तीन नेपाली क्वारेन्टाइन र एकजना अस्पतालमा उपचारको क्रममा रहेको जानकारी दिए । ‘क्वारेन्टाइनमा रहेका तीनको अवस्था सामान्य नै छ भने अस्पतालमा भर्ना भएका एकको अवस्था केही जटिल छ ।’ उनले भने, ‘अस्पतालमा कोही जान नपाउने भएकोले उपचारमा संलग्न चिकित्सकहरुसँग नियमित रुपमा जानकारी लिने काम भइरहेको छ ।’

यता, नेपालीमा संक्रमण फैलिएपछि लिस्वनस्थित नेपाली वाणिज्य दूतावासले पनि विरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, चेकजाँच र सुरक्षामा आवश्यक ध्यान पुऱ्याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कुटनितिक पहल गरिरहेको छ । बाणिज्यदूत मकर बहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए । उनले पोर्तुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपतमा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कसरी आयो ७४ नेपालीको हल्ला ?

केही दिनअघि मात्रै फारोस्थित ‘केयरफुल’ नामक कृषि कम्पनीमा कार्यरत एक नेपाली सामान्य घाँटी दुखेपछि साथीको सहायतमा नजिकैको अस्पताल पुगे । अस्पतालका चिकित्सकले दुवै जनालाई जाँच गर्नेपर्ने बताएपछि बिरामीको साथी बनेर गएका एक नेपाली युवा भागेका थिए । अस्पताल र स्थानीय प्रशासन उनको खोजी गर्दा ‘केयरफुल’ कम्पनीका कामदार बस्ने क्याम्पमा पुगेपछि सबैलाई क्वारेन्टाइनमा लगेको एक नेपालीले फोनमार्फत हामीलाई जानकारी दिए । ती नेपाली युवाकाअनुसार अहिले क्वारेन्टाइनमा तीन नेपाली, सात पाकितानी, तीन बंगलादेशी र अन्य ३९ जना भारतिय नागरिक छन् । यस्तै एक नेपाली र अन्य केही विदेशीमुलका नागरिकहरुलाई छुट्टै राखेर उपचार गराइएको बुझिएको छ । अहिले नेपालीसहित ५७ जना नागरिक क्वारेन्टाइनमा छन् ।

नेपालदेखि क्वारेन्टाइनसम्म

उपचारका क्रममा रहेका एक र क्वारेन्टाइनमा रहेका तीन नेपाली एक महिना अघिमात्रै नेपालबाट आएको बुझिएको छ । उनिहरु माल्टाबाट पोर्चुगल छिरेका थिए । ति युवाहरु फारोस्थित ‘केयरफुल’ नामको कृषि कम्पनीमा काम गर्दै आएका ह्न् । उनिहरुले दुई नेपालीबाहेक अन्य कोही पनि नआएको उनिहरुको गुनासो छ । यता, एनआरएनए पोर्चुगलले कोरोनाको संक्रमणमा परेका नेपालीका लागि भन्दै ‘छुट्टै हेल्प डेस्क’ को स्थापना गरेपनि आफूहरुलाई वेवास्ता गरेको गुनासो गरेका छन् ।

कमलको कमलो मन

पोर्चुगलका आधिकारिक संचारमाध्यमहरुमा फारोको एक कृषि कम्पनीमा कार्यरत नेपाली युवामा कोरोनाको संक्रमण भएको थाहा पाएपछि युवा व्यवसायी गुरुङ घटनास्थल पुगेका थिए । धेरै नेपाली संक्रमित भएको थाहा पाएपछि गुरुङले आवश्यक खाद्यान्न लिएर उनिहरु बसेको ठाउँमा पुगेका थिए । गुरुङले नेपालीका लागि दाल, चामल, चाउचाउ, तरकारीजस्ता खाद्यान्न ल्याइदिएको नेपालीहरुले बताएका छन् । ‘म उनिहरुको सम्पर्क मै छु । उनिहरुलाई केही समस्या परे आफूले सकेको सहयोग गर्छु ।’ गुरुङ भन्छन्, ‘उनिहरु सबै सुरक्षित भएकोले चाँडैं क्वारेन्टाइनबाट फर्किन्छन् ।’ क्वारेन्टाइनमा राखिएका कसैमा पनि कोरोना संक्रमण नदेखिएको उनले बताए ।

एनआरएनए पोर्चुगल किन बेखबर ?

फारोमा नेपाली कामदारलाई भएको कोरोना संक्रमणप्रति एनआरएनए पोर्चुगल बेखबर बनेको आरोप छ । एनआरएनए पोर्चुगलले कोषाध्यक्ष बिक्रमजंग कुंवरको संयोजकत्वमा सहयोग समन्वय समिति (हेल्प डेस्क) को गठन गरेपनि क्वारेन्टाइन र अस्पतालमा रहेका नेपालीलाई सहयोग नगरेकोप्रति नेपाली समुदाय आक्रोशित छन् । अहिले एनआरएनएले गर्नुपर्ने काम व्यक्ति विशेषले गर्र्दै आएकोले पनि विरोध हुनु स्वभाविक पनि हो । यता, सहयोग समन्वय समितिका संयोजक कुंवर भने अलगावको अध्यक्ष अनिल शर्मा, उपाध्यक्ष देवेन्द्र पुन, केन्द्रका उपाध्यक्ष मक्षिन्द्र अर्याल लगायतले अस्पतालमा पुगेर आएको दावी गर्छन् । उनका अनुुसार एकैपटक धेरै जना जान नमिलका कारण त्यस क्षेत्रका प्रतिनिधीलाई पठाइएको हो । कुंवरले कोरोनाका कारण अत्यावश्यक खाद्यान्न लगायतका वस्तुहरुको अभाव भएको ठाउँमा राहत वितरण गर्ने तयारी भएको उनको भनाई छ ।

पोर्चुगलमा कोरोनाका संक्रमित बढे

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण पोर्चुगलमा पनि बढ्दो छ । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा १२ जनाको ज्यान गएको छ भने एक हजार २ सय ८० जनामा संक्रमण फैलिएको ‘वल्र्डसमिटर’ ले जनाएको छ । संक्रमणबाट बच्न पोर्चुगल सरकारले ‘आपतकालिन’ घोषणा पनि गरिसकेको छ । एक तथ्यांकअनुसार पछिल्लो चौविस घण्टामा २ सय ६० जना नागरिकमा नयाँ संक्रमण देखिएको छ । यस्तै, २६ जनामा कोरोनाको जटिल संक्रमण देखिएको छ भने ५ जना उपचारपछि घर फर्किएका छन् ।