जिल्लाको उत्तरी क्षेत्रमा पर्ने प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा ब्यक्तिगत सहयोगबाट धमाधम पूर्वाधारको निर्माण भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका वडा नं ५ पाउद्धारको समुन्द्री सतहबाट चार हजार ८०० मिटर उचाइमा अवस्थित खयर बराह क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणको अभियानमा स्वदेश तथा विदेशमा रहेका पाउद्धारबासीको पहलमा आवश्यक पूर्वाधारमा करिव १ करोड २० लाखभन्दा धेरै सहयोग जुटेको खयर भारानीथान तथा क्षेत्रसंरक्षण कोषका संयोजक राजु पुनले बताए । ‘सरकारी निकायबाट सहयोग जुटाएर पूर्वाधार बनाउन धेरै बर्ष लाग्ने देखियो,‘आफ्नो क्षमता अनुसार धमाधम पूर्वाधारको काम भइरहेको छ’ पुनले भने ।

एकल परिवारबाटै ठूलो आर्थिक सहयोगले सहज भएको संयोजक पुनको भनाई छ । केहीदिन अगाडी पाउद्वार पलादी निवासी ९१ बर्षीय कलमसिङ्ग तिलिजा पुन र उनकी धर्मपत्नी सचिमा तिलिजा पुनले खयर भारानिको दर्शन गर्न आउने भक्तजनलाई सहज हुने गरी धोतिखोला उकालोमा पर्ने पदमार्ग निर्माणमा ६ लाख सहयोग गरेका थिए।

ठाडो उकालेमा यात्रा गर्दा समस्या भएको देखेपछि संयोजक पुनको अनुरोधमा सहयोग गरेका थिए । अगाामी २०७७ सालको खयरपुजा अगाडी नै पदमार्ग निर्माणकार्य सम्पन्न गरिने बताए । कलमसिङ्ग दम्पत्तीसँगै उनका छोरा कृष्णबहादुर पुन लगायतको सहयोगमा निकै आवश्यक परेको पूर्वाधार निर्माणमा सहज भएको बताए ।

खोप्रा देखि खयरबराह तालसम्म बाटो मर्मत, खयरक्षेत्रमा निर्मित पदमार्गमा फलामको रेलिङ, सत्तल, खानेपानी लगायतका पूर्वाधारले विदेशबाट आउने पर्यटकलाई समेत सहज भएको छ । आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर हुँदै तीन दिनको पैदलयात्रामा खयरबराही तालमा जोखिमपूर्ण यात्रा गरेर भक्तजन मन्दिरमा पुग्ने गरेका छन्। मन्दिरमा जनैपूर्णिमाको दिन सयौँको संख्यामा भक्तजनहरु पुग्ने गरेका छन् ।

पदमार्गस्थल तथा भक्तजनलाई अनुकुल हुने ठाउँमा संरचना बनेपछि घुम्न जानेको संख्या समेत बढेको छ । अन्नपूर्ण पदमार्ग अन्तरगत पुनहिल, घोरेपानी पुगेका पर्यटकलाई उक्त क्षेत्रमा आर्कषित गर्ने प्रयास भइरहेको छ ।