न्यु धौलागिरी बचत तथा ऋण सहकारीले कोरोना भाइरस (कोभिड १९) का कारण देखिएको सन्त्रासलाई मध्यनजर गरी सहकारीका शाखामा आउने सेवाग्राहीलाई निशुल्क मास्क वितरण सुरू गरेको छ । वित्तिय सेवासँगै सेवाग्राहीमार्फत आफ्नो क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरी सदरमुकाम बेनी लगायत जिल्लाका विभिन्न स्थान र छिमेकी पर्वतको जलजला गाउँपालिकामा रहेको ६ वटा शाखामा आउने सेवाग्राहीलाई निशुल्क मास्क वितरण सुरू गरेको हो ।

‘सहकारीका सदस्यलाई कोरोना भाइरससम्बन्धि जानकारी समेत दिने गरेका छौ,‘यो अवस्थामा सदस्यहरुलाई आवश्यक सहयोग गर्ने गरी योजना बनाइएको छ’ सहकारीका अध्यक्ष लिलाबहादुर बानियाँले भने ।सहकारीले बजारमा मास्कको अभाव भइरहेको अवस्थामा केही यूवाले सुरू गरेको अभियानलाई साथ दिने गरी इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब, नेपाल युवा परिषद् र म्याग्दी जेसिजले उत्पादन गरिरहेको मास्क खरिद गरेको अध्यक्ष बानियाँले बताए ।

बेनीमा मास्क उत्पादन गरिरहेका यूवा दिनेशकुमार विश्वकार्म र छवि आचार्यमार्फत सहकारीले १ हजार मास्क खदिरको सम्झौता गरेको छ । मास्कमा प्रयोग भएका भाइवरको प्रयोग गरिएकाले जिल्ला प्रशासन कार्यालय र चिकित्सकले समेत आवश्यक मापदण्ड पुरा भएको बताएपछि सहकारीले समेत पहिलो चरणमा प्रति मास्क ३५ रुपैयाँको दरले खरिद गरी वितरण गरेको छ ।

सहकारीले आफ्नो कार्यालयमा प्रवेश गरी नगद कारोबार गर्नु अगाडी सेनिटाइजरको अनिवार्य प्रयोगलाई समेत जोड दिएको छ।मास्क वितरण कार्यक्रममा सहकारीका सचिव रामजीप्रसाद सुबेदी, कोषाध्यक्ष चन्द्रकुमार केसी, सेयर सदस्य सन्तोष रावल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल लगायतको उपस्थिति रहेको थियो । सहकारीले निशुल्क शिक्षा, छात्रबृद्धि लगायत विभिन्न सहयोग गर्ने गरेको छ ।

बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले समेत आफ्ना सेयर सदस्यलाई कोरोना भाइरससम्बन्धि सचेतना फैलाउने गरेको छ । सहकारीले कारोबार अगाडी सावुन पानीले हात धुने र सेनिटाइजरको प्रयोगमा जोड दिएको छ । जिल्लाका सबैजसो वित्तिय संस्थाले सेवाग्राहीलाई मध्यनजर गरी सचेतनामुलक कार्यमा सघाइरहेका छन् ।

विज्ञापन