पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि म्याग्दीका बैंक तथा वित्तिय संस्थाले सकेसम्म पैसा लिएर नआउन सेवाग्राहीलाई अपिल गरेका छन् ।

पैसामा कोरोनाका जीवाणुको आयु लामो भएकाले संक्रमणको जोखिमले विश्वभर धमाधम संक्रमित क्षेत्रमा पैसा नष्ट गर्न थालेको समाचारले नेपालमा समेत नोटको प्रयोगलाई निरुत्साहित गरिएको अवस्थामा म्याग्दीमा समेत ग्राहकलाई नोटबाट हुने कारोबारमा सचेत हुन अपिल गरिएको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए ।

‘सेवाग्राहीलाई नोटमा कारोबार कम गर्न डिजिटल प्रविधिका बारेमा सिकाइरहेका छौ,‘नोटबाट संक्रमणको जोखिमबाट सचेत हुन पटक–पटक सार्वजनिक सूचना समेत जारी भएको छ’ ढुंगानाले भने ।उनले बैंकको मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकामा रहेको शाखाबाट समेत नगदमा कारोबारलाई बेनीमा जस्तै सम्भव नभएपछि नोटबाट भाइरसको संक्रमणको जोखिमका बारेमा सेवाग्राहीलाई जानकारी दिइरहेको बताए ।

डिजिटल कारोबार निःशुल्क गर्दा बैंकको काउन्टरमा हुने भिडभाट कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट मद्दत पुग्ने भएकाले बैंकर्स संघको निर्णय अनुसार ग्राहकलाई समेत सोही माध्यमबाट जानकारी दिइरहेको सिद्धार्थ बैंक बेनी शाखाका प्रबन्धक गणेश पाठकले बताए । उनले धेरै सेवाग्राहीले नगदमै कारोबार गर्ने भएपनि कोरोना भाइरसको संक्रमणबाट जोगिन बजार क्षेत्रमा विस्तारै डिजिटल माध्यमको प्रयोग हुन थालेको बताए । छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड चिनियाँ रकम नष्ट गरेपछि विश्वभर नगदमा कारोबार कम हुन थालेको अवस्थामा म्याग्दीमा समेत त्यसलाई प्रयोग गर्न सकिने बताए ।
न्यूयोर्क युनिभर्सि्टिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित गरेको थियो ।

कोराना सँगै कुनैपनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने भन्दै पैसामा तीन हजार भन्दाबढी प्रकारका कीटाणु जस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेकाले सचेत हुन अपिल गरिएको नेपाल बैंक बेनी शाखाका प्रबन्धक मोहनप्रसाद लामिछानेले बताए ।

‘जीवाणु पैmलिने ठाउँबाट बैंकसम्म नगद आउँछ,‘जथाभावी कच्याककुचुक गरी ल्याइएका पैसाहरु झन जोखिम हुन्छ’ लामिछानेले भने । उनले विभिन्न सञ्चारमाध्यमबाट प्राप्त जानकारी अनुसार दैनिक रुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने भएकाले सचेत हुनुपर्ने बताए । यसैबीच कोरोना संक्रमण रोक्ने अभियानलाई सघाउन एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने सुविधा दिएको छ ।

यो सुविधासँगै म्याग्दीको सदरमुकाम बेनी लगायत स्थानीय तहमा रहेका वित्तिय संस्थामा रहेका बैंकमा अर्को बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको हो । एउटा नेटवर्कभित्र रहेका एउटा बैंकको अर्को बैंकको एटिएम मेसिनबाट रकम निकाल्दा लाग्ने ३० रुपैयाँ छुट हुन्छ । बेनीमा स्मार्ट च्वाइस टेक्नोलोजिज् ९एससिटी० को प्रयोगकर्ताको संख्या कम रहेको छ भने भिजा कार्डको प्रयोगकर्ता अत्याधिक रहेका छन् ।

नोटमा कस्ता किटाणु हुन्छन् ?
कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठनले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको अवस्थामा एक अध्ययन अनुसार बजारमा जुत्ता सिलाउने पसल, तरकारी बजार, मासु पसल, पेट्रोल पम्प र सडकमा माग्न बस्नेहरुसँगभएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि गरेको थियो ।

नेपाली पैसाको प्रदूषणस्तर उच्च भएकाले पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने तत्वहरु रहेको अध्ययनले देखाएको छ । पैसालाई कीटाणुनाशक बनाउन उपकरण प्रयोग गर्ने र पैसा प्रयोग गरिसकेपछि साबुन पानीले राम्रोसंग हात धुने गर्नुपर्छ।

विज्ञापन