कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्न नेपाल आयल निगमले वितरण प्रणाली बनाउँदै छ । विशेषगरी ग्यास सिलिण्डर कसरी उपभोक्ताकोमा पुर्‍याउने भनेर वितरण प्रणाली तयार गर्न लागिएको निगमले जनाएको छ ।

यो अवधिभर कसैलाई ग्यास आवश्यक भए के कसरी प्राप्त गर्ने भन्ने कार्यविधि बनाएर बुधबार जारी गरिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए। उनले भने, ‘लकडाउनको अवस्थामा उपभोक्ताले ग्यास, पेट्रोल तथा डिजेल कसरी पाउने भन्नेबारेमा हामी मङ्गलबार रातिसम्म निर्णय गर्छौं, लकडाउनको अवधिमा हामीले वितरण प्रणाली मिलाउँछौँ, समस्या हुँदैन ।’

 

ग्यास व्यवसायीहरूले मङ्गलबारदेखि ग्यास भण्डारणलाई तीव्र बनाएका छन् । फागुन १० गतेसम्म रिटेल काउन्टर सञ्चालन गरेर ग्यास वितरण गरेका व्यवसायीले लकडाउन सुरु भएपछि भण्डारणलाई तीव्र बनाएको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।

 

सङ्घका अनुसार १२ हजार मेट्रिक टन उद्योगमा भण्डार गर्न सकिन्छ भने १२ हजार मेट्रिक टन सिलिन्डरमा भण्डारण गर्न सकिनेछ । कोरोना भाइरसको त्रासले बजारमा अभाव हुन्छ कि भनेर अत्यधिक ग्यास वितरण भइरसकेको र त्यो मागभन्दा बढी नै वितरण भएकाले समस्या नहुने सङ्घले जनाएको छ ।

कोरोना भाइरसको त्रासले खल्बलिएको एलपी ग्यास वितरण प्रणाली आइतबार र सोमबार उपत्यकाको २२ स्थानमा रिटेल काउन्टर सञ्चालन गरेर वितरण गरेर पनि सहज भएको थियो । मागभन्दा बढी आपूर्ति हुँदा पनि बजारमा अभाव देखिएपछि रिटेल काउन्टरबाट पनि वितरण गरिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।