चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेका पोखराका एक यूवालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । हङकङमा पहिलो पटक एक नेपालीका कोरोना देखिएको गैरआवासीय नेपाली संघ, हङकङका अध्यक्ष राधिका गुरुङ (टिका)ले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘सर्तकता अपनाउनुपर्छ, त्रसित हुनुपर्ने अवस्था छैन्’ अध्यक्ष गुरूङले भन्नुभयो । पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका ती युवाको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

१० वर्षदेखि हङकङ बस्दै आएका ती युवा चार वर्षयता लान क्वाई फोङको बारमा काम गर्दै आएको थाहा भएको अध्यक्ष गुरुङले बताउनुभयो । संक्रमित यूवाको सहकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनीलाई पनि परीक्षण गरिएको थियो। परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गुरुङलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यूवाकोे हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । हङकङ बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सतर्कता अपनाउन र सुरक्षित रहन समेत आव्हान गर्नुभएको छ ।