बेलायतमा कोरोना भाइरस {कोभिड–१९} संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ । बेलातको चर्चित पत्रिका द सनका अनुसार बुधबार ६१ वर्षीय बुवा सुधीर शर्मा र त्यसकाे २४ घण्टा नबित्दै बिहीबार ३३ वर्षीया छोरी पूजाको मृत्यु भएको हो ।

सुधीर, हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत थिए । विमानस्थलमा प्रिय अधिकृतका रूपमा चिनिएका उनलाई जनवरी ७ मा संक्रमण भएको थियो। शर्मालाई कोरोना भाइरस कहाँबाट लाग्यो भने पुष्टि भएको छैन ।

हिथ्रोका एक कर्मचारीले भनेका छन्- ‘कोरोना भाइरसको पहिलो लक्षण गत डिसेम्बरमा आयो र त्याे बेला हामी उडान गर्दै थियौँ, त्यहीबाट महामारी शुरू भयो ।’ हिथ्रोमा निर्देशक निक जरीवाललाले भनेका छन्- ‘सुधीर एकदम सम्मानित, दयालु र अनुभवी अधिकारी थिए । उनी सबैकाे सम्झनामा रहनेछन् ।’

छोरी पुजा फार्मेसीमा काम गर्थिन् । पूजाको मृत्यु अस्पताल भर्ना भएको ३ दिनमै भएको थियो ।पूजाकी साथी लेख्छिन्- ‘हाम्रा एक जना फार्मासिस्ट र विश्वविद्यालयबाट मेरो साथी पूजा र उनका बुबाको मृत्यु भएकोमा साँच्चै दुःख लाग्यो, उनीहरूको आत्माले शान्ति पाओस् । परिवारलाई हार्दिक समवेदना ।’

दुबैको अन्त्येष्टिमा कोही पनि मलामी जान मानेनन् । समाचारका अनुसार आफ्ना श्रीमान्को अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन् ।

‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै समाचारमा लेखिएको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन । यो निकै दर्दनाक अवस्था हो ।’

सुधीर पश्चिमी लन्डनको हन्स्लो निवासी हुन्। उनलाई केही वर्षयता अर्को रोगले समेत सताइरहेको बताइएको छ । उनीहरु बेलायती नागरिक नै थिए। तर उनीहरुको मुलथलो खुलाइएको छैन । होन्स्लो क्षेत्रमा करिब तीन हजार नेपाली परिवार बसोबास गर्दै आएका छन् ।