दाहसंस्कारमा ‘नो डिस्काउन्ट’-गरीबलाई आफन्तको मृत्यु समेत बोझिलो

0

शहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’ मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे । तर, टार्नै नसकिने मृत्युले मान्छेलाई कसरी घुँडा टेकाउँछ, हामीले शनिबार पशुपति आर्यघाटमा देख्यौँ ।

हामी पुग्दा विद्युतीय शवदाहगृहको मूलढोका ढप्क्याइएको थियो । झ्यालबाट टिकट काउन्टरमा एक युवा बार्गेनिङ गरिरहेझैं देखिए । हामी नजिकै पुग्यौँ । काउन्टरभित्रबाट कर्मचारी भन्दै थिए, ‘यति रकममा त हुँदै हुन्न, कहाँ लानु छ लैजाऊ ।’ यो कठोर शब्द सुनेर युवाको मुहारमा पीडा मडारियो । सँगै रहेकी युवती अवाक भइन् ।

प्रतीक्षालयमा बसेर हामी यो सब नियालिरहेका थियौँ । केहीबेरमा युवती हामी नजिकै आएर कुर्सीमा बसिन् । उनी अवाक थिइन् । केहीबेरमा युवा पनि आए । गरिबीलाई सराप्दै उनी भुतभुताउन थाले, ‘उपचार गरेर बचाउन त सकिएन, मरेपछि लाश पनि जलाउन सकिएन ।’ युवती प्रतिक्रियाविहीन थिइन् ।

उनीहरूको पीडा के हो ? हामीले चासो राखेपछि संवाद लम्बियो । उनीहरूले हामीलाई बागमती किनारतर्फ लगे । किनारमा एउटा शव देखियो । छेउमा थिइन्– २७ वर्षीया रिना श्रेष्ठ र रुँदै गरेका दुई बच्चा ।

रिनाका श्रीमान् ४० वर्षीय राजेशको शनिबार बिहान निधन भएको थियो । भक्तपुरका स्थायी निवासी उनी नक्सालमा परिवारसहित बस्दै आएका थिए । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्थे । तीन सन्तान नाबालक छन् । घरमूली नै बिरामी भएपछि परिवार चरम आर्थिक संकटमा थियो । ‘राम्रो उपचार गरेर बचाउन सकिएन, आज बिहान प्राण गयो, लास उठाउनसमेत रकम भएन,’ रिनाले भनिन् ।

रिनाका अनुसार उनले छिमेकीसँग चन्दा उठाउन खोजेका थिए । तर, लकडाउनका कारण ४५ सय रुपैयाँ मात्रै जम्मा भयो । मलामी नपाएपछि शवबाहनमा हालेर आर्यघाट ल्याए । त्यसैमा दुई हजार खर्च भयो ।

आर्यघाट पुगेपछि उनीहरूले थाहा पाए– शव जलाउने ठाउँ पनि स्तरअनुसार फरक फरक छ । आर्थिक हैसियत भएकालाई माथिपट्टि, विपन्नलाई तलपट्टि । सबैभन्दा सस्तो ठाउँमा पनि ६ हजार रुपैयाँ लाग्ने देखियो । तर, उनीहरूसँग २५ सय रुपैयाँ मात्र थियो ।

कसैले विद्युतीय शव दाहगृहमा सस्तो पर्छ भनेर सल्लाह दियो । त्यसैले रिनालाई बागमती किनारमै छाडेर उनका दुई आफन्त यता आएका रहेछन् । तर, त्यहाँ पनि चार हजार लाग्ने भयो । आफूसँग २५ सय भएकाले त्यतिमै शवदाह गरिदिन उनीहरू अनुरोध गरिरहेका थिए । तर, शव दाहगृहका कर्मचारी ‘नो डिस्काउन्ट’ को मुडमा थिए ।

रिनालाई साथ दिन आर्यघाट पुगेकी रेणु थापाले भनिन्, ‘१२ बजे नै शव आर्यघाट ल्यायौँ । तर, पैसा नभएकाले शव अलपत्र परेको छ ।’ बाबुको मृत्युमा शोकमा परेका दुई बालबालिका यो सब संवाद सुनिरहेका थिए ।

उनीहरूको मुहारमा मडारिएको पीडाले हामीलाई मौन बस्न दिएन । त्यहींबाट पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई फोन लगायौं । घटना विवरण सुनायौँ । उनले समस्या समाधान गर्ने वचन दिए ।

खतिवडाको आश्वासन बोकेर हामी मृतकका परिवारसहित दहन कक्ष पुग्यौँ, तर त्यहाँका कर्मचारी पूर्व अडानबाट टसमस भएनन् । फेरि खतिवडालाई फोन गर्‍यौं । काउन्टरका कर्मचारीसँगै कुरा गर्न भन्यौँ । तर, कर्मचारी बोल्न तयार थिएनन् । धेरै याचना गरेपछि उनी आफ्ना हाकिमसँग कुरा गर्न तयार भए ।

अब समस्या समाधान भयो भनेर हामीले लामो सास तान्न मात्र के खोजेका थियौँ, काउन्टरका कर्मचारीले अर्को अत्तो थापे, उहाँ (खतिवडा) ले भनेर हुँदैन । अनि उनैले उपाय सुझाए– कोषका पूर्व पदाधिकारी नरोत्तम वैद्यलाई भन्नुहोस् । हामीले वैद्यको नम्बर खोज्यौँ, र उनलार्ई फेरि विवरण बयान गर्‍यौँ ।

वैद्यले काउन्टरका कर्मचारीसँग संवाद गरे । उनीहरूबीच के संवाद भयो, शव दाह गर्न कर्मचारी तयार भए । केहीबेरमा शव दहन पनि सुरु भयो । तर, फेरि पनि हाम्रो मनमा प्रश्न उठिरह्यो, ‘कोषका पदाधिकारीलाई चिन्ने र फोन घुमाउन सक्ने यो देशमा मुठ्ठिभर होलान्, जसले फोन गर्न सक्दैनन्, तिनको अवस्था के होला ? देशमा सरकार छ, तर फोन घुमाउन नसक्ने नागरिकले मर्दा पनि सुख नपाउने अवस्था कहिलेसम्म रहला ?’

आपसमा यही संवाद गर्दै हामी फेरि बागमती किनारतर्फ लाग्यौँ । भष्मेश्वर घाटमा चार शव जल्दै थिए, अरू लाइनमा थिए । मृत्युपछि पनि लाइनमा बस्नुपर्ने यो अर्को विडम्बनाले हाम्रो समृद्धिको यात्रालाई गिज्याइरहेको थियो ।

केहीबेरमा काभ्रेको कोसीपारीका ४८ वर्षीय रूपेश परियारको शव जलाउने पालोमा थियो । प्रतीक्षालयमा सुकसुकाउँदै थिइन् उनकी भाउजू पार्वती । घरी पछ्यौरीले आँशु पछ्थिन्, घरी फलामको डण्डीमा टाउको अड्याउँथिन् । शोकमा सान्त्वना दिन वरिपरि खासै कोही थिएन ।

पार्वतीनजिक पुग्यौँ । उनले लकडाउनको पीडा सुनाइन्, ‘बिहान टिचिङमा देवरको मृत्यु भयो । बल्लबल्ल घाटसम्म शव ल्यायौँ । छोरा काठमाडौंमा भएकाले दागबत्ती दिन त गाह्रो भएन, तर मलामी कोही आउन पाएनन् । श्रीमतीले समेत मुख हेर्न नपाई दाहसंस्कार गर्नुपर्ने अवस्था भयो ।’

उतापट्टि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ की ५२ वर्षीया मतिमाया श्रेष्ठको शव जल्दै थियो । सामुन्ने प्रतीक्षालयको बेन्चमा थिए, ६३ वर्षीय श्रीमान् कृष्णलाल । जलिरहेको शव नियाल्दै हत्केलाले आँसु पुछ्दै थिए । तर, उनलाई सम्हाल्न आसपासमा कोही थिएन ।

हामी नजिक पुग्यौँ, उनले चुरोटको सर्को गहिरोसँग ताने । प्रेस लेखिएको ज्याकेट लगाएकाले हामीले परिचय दिनुपरेन । प्रश्न पूरा नहुँदै उनले भन्न थाले, ‘बाबु मेरी श्रीमतीले मलामी समेत पाइनन् । यो पीडामा चाहिने भनेकै आफन्त हो । तर, सिन्धुपाल्चोकबाट कोही आउन सकेनन् । पीडाले टाउको फुट्लाझैँ हुँदा वह पोख्ने आफन्त समेत पाइनँ ।’

प्रतीक्षालयको अर्को बेन्चमा थिए, काठमाडौंस्थित नागार्जुन नगरपालिका–१ का ४३ वर्षीय सुरज थापामगर । उनकी आमा ७० वर्षीया भगवती थापाको शव जलिरहेको थियो । मातृवियोगको पीडाले सुरजको अनुहार गलेको थियो । आँखामा आँशु टिलपिलाइरहेको टाढैबाट देखिन्थ्यो । तर, उनको पनि काँधमा थपथपाइदिने कोही आफन्त थिएनन् । यो पीडा कहिलेसम्म कतिले व्यहोर्नुपर्ने हो, दुनियाँमा कसैसँग पनि यसको जवाफ छैन । नयाँ पत्रिका दैनिकबाट

Leave a Reply