गण्डकी प्रदेशभित्रै कोरोना संक्रमण भए नभएको नमूना परीक्षण हुने भएको छ। संघीय सरकारले मंगलबार गण्डकी प्रदेश सरकारलाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामाग्री उपलब्ध गराएको थियो।

मेसिनबाट बुधबारदेखि सर्वसाधारणको नमूना परीक्षण गरिने प्रदेश सरकारले बताएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माले मंगलबार हेलिकप्टरबाट पोखरा ल्याइएका उपकरण जडान गरिसकिएको र उपकरणकै परीक्षण भईरहेको बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा यी उपकरण जडान गरिएको पनि उनले बताए।

काठमाडौंबाट आएका प्राविधिकहरुले बोकेर ल्याएको नमूना यहाँको मेसिनमा पनि परीक्षण गर्ने र बुधबारदेखि बल्ल सर्वसाधारणको नमूना लिएर परीक्षण गर्न सकिने उनले बताए।‘काठमाडौंबाट आएका प्राविधिकहरुले पोजेटिभ र नेगेटिभ देखिएका नमूना बोकेर ल्याएका छन्। उनका अनुसार अहिलेसम्म परीक्षणका लागि राजधानीसम्म लैजानुपर्दा सबै इच्छुक बिरामीको नमूना लिन सकिएको थिएन।

तर, अब भने शंकास्पद सबै बिरामीको नमूना परीक्षण गरिने पनि उनले बताए। सरकारले गण्डकी प्रदेशलाई मंगलबार एकहजार थान पीपीइ (व्यक्तिगत सुरक्षा कवच) २० हजार थान पञ्जा, २० हजार थान मास्क, चारसय थान एन–९५ मास्क, १० थान थर्मो्मिटर र एकसेट पोर्टेवल भेन्टिलेटर पनि उपलब्ध गराएको थियो।

ती मध्ये पीपीइ, पञ्जा, मास्क, लगायतका सामाग्री प्रदेशभित्रका ११ जिल्लालाई पनि उपलब्ध गराउने उनले बताए। यसैबीच अहिलेसम्म प्रदेशले ३२ नमूना संकलन गरेर परीक्षणका लागि पठाएको छ। ती मध्ये एउटा पोजेटिभ र २० वटा नेगेटिभ छन्। बाँकी नमूनाको रिपोर्ट आउन बाँकी रहेको शर्माले जानकारी दिए।

हेलिकप्टरबाट मंगलबार बिहान उपकरण र आवश्यक सामाग्री भित्रिएपनि ती उपकरण कहाँ राख्ने र कोरोना नमूना परीक्षण गर्ने भन्ने विषयमा विवाद समेत भएको थियो। प्रष्ठिानका पदाधिकारीले आफ्नो प्रयोगशलामा ठाउँ नरहेको भनेर कोरोना परीक्षण गर्ने उपकरण राख्न चाहेका थिएनन। तर, प्रदेश सरकारले भने प्रतिष्ठानकै ल्याबमा राख्ने भनेपछि अन्योल समेत भएको थियो।  सन्तोष पोखरेल