आज रामनवमी पर्व

0

आज हिन्दू धर्मावलम्बीहरुको आस्थाको पर्व रामनवमी, देशैभरि श्रद्धापूर्वक मनाइँदै छ । यद्यपि कोरोना भाइरसको सन्त्रासका कारण पर्व भने औपचारिकतामै सीमित भएको छ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व मनाइने गरिन्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ । त्यसैकाे सम्झनामा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा रहिआएकाे हाे ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ र मेला महाेत्सव लाग्ने गर्छ । तर यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउन र भीडभाड नगर्न जारी निर्देशनका कारण भक्तजनले घरमै बसेर आराधना गरी मनाउँदै छन् ।

प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् रामचन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ ।

त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।विगतका वर्षहरुमा क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दथ्यो । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँथे । यसपालि भने यहाँ सुनसान रहने भएकाे छ ।

रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्ने गर्दथ्यो । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो हुन्थ्यो । तर मुलुक लकडाउनमा रहेकाले यस वर्ष भने ती मन्दिर, तीर्थस्थल सबै सुनसान रहेका छन् । भीडभाड हुन नदिन मेला पर्व तथा दर्शनमा निषेध गरिएको छ, तर मन्दिरभित्र र घरघरमा औपचारिक पूजाआजा भने हुने बताइएको छ ।

Leave a Reply