नेपाल राष्ट्र बैंकले आइतबार ऋणीका लागि स्किम ल्याएको छ। १५ लाख ग्राहकका लागि हुने गरी ल्याएको स्किम अनुसार चैतको ब्याज असार मसान्तसम्ममा भुक्तानी गरे हुन्छ। राष्ट्र बैंकको स्किम अनुसार, बैशाखको किस्ता बैशाखमै र जेठको जेठमै तिर्नु पर्छ।

चैतको मात्रै असारमा तिरे हुन्छ। यो मासिक वा त्रैमासिक रुपमा भुक्तानी गरिने ऋणका लागि लागु हुने ब्यवस्था हो। कोरोना भाइरसको संक्रमणका कारण सात दिनदेखि देश लकडाउनमा छ। विश्व बजार पनि कोरोनाका कारण ठप्पजस्तै छ।

ब्यवसाय सञ्चालन गर्न नपाएका, जागिर, ब्यापारी, श्रमिक सबैका लागि हुने गरी राष्ट्र बैंकले चैतको ब्याज असारमा तिरे हुने ब्यवस्था गरेको हो। यदि कसैले चैतको ब्याज चैतमै तिर्छु भन्यो भने उसले ब्याजमा १० प्रतिशत छुट पाउने छ।

अहिले तिर्दा फाइदा
नियमित आम्दानी हुनेहरुले राष्ट्र बैंकको चैतको ब्याज अहिले नतिरेर असारमा तिर्दा हुने स्किमको उपयोग नगर्दा फाइदा छ। किनभने उसले असारमा असारको पनि ब्याज तिर्नु पर्छ र अहिलेको चैतको पनि तिर्नु पर्छ। यसो गर्दा दुई महिनाको ब्याज एकै पटक तिर्दा दबाब पर्न सक्छ।

यसबाहेक उसले अहिले पैसा तिर्दा ब्याजमा १० प्रतिशत छुट पाउँछ। बैंकलाई मासिक इएमआइ तिर्दा थोरै साँवा र बढि ब्याज तिर्नु पर्न हुन्छ। बैंकरका अनुसार, अवधि हेरेर ब्याजको रकम केही तलमाथि हुन्छ। जस्तो मानौ कसैले अहिले ५० हजार इएमआइ तिरिरहनु परेको छ।

यसमा साँवाको हिस्सा २५ प्रतिशत हाराहारी हुन्छ भने बाँकी ब्याजको हिस्सा हुन्छ। ब्याज करिव ४० हजार तिर्नु पर्ने रहेछ भने उसले १० प्रतिशत  छुट पाउँछ। अर्थात अहिले तिर्दा ऋणीलाई ४ हजार रुपैयाँ बचत हुन्छ।Source: बिजमाण्डू