बेनी अस्पताल र मृगौला पीडितलाई दिदीबहिनीको सहयोग

0

‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने मूल नारासहित बिहीबार म्याग्दीमा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६३औं राष्ट्रिय सहकारी दिवस मनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को कारण सहकारी दिवससम्बन्धी कुनै औपचारिक कार्यक्रम नभए पनि दिदीबहिनी सहकारीले बेनी अस्पताललाई जिन्सी सामान सहयोग गरी दिवस मनाएको हो ।

दिवसको अवसर पारेर सहकारीमार्फत कोरोना भाइरसका विरुद्ध प्रयोग गरिने स्यानीटाइजर, माक्स र पन्जासहित ४५ हजार रुपैयाँ बराबरको जिन्सी सामान बेनी अस्पताललाई सहयोग गरिएको सहकारीका सचिव सुगम श्रेष्ठले बताउनुभयो ।

उक्त सामग्रीहरु सहकारीका अध्यक्ष ज्योती लामिछानेले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल र मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमृत अधिकारीलाई हस्तान्तरण गरेकी थिइन्।

दिदीबहिनी सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत मुठ्ठीदान अभियानबाट सामग्री खरिद गरी राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अस्पताललाई सहयोग गरेको जनाएको छ ।

सोही अवसरमा बेनी नगरपालिका–७, मुस्लिम बस्तीमा बस्ने मृर्गौलापीडित जस्मिन बेगमलाई नगद पाँचहजार पाँचसय रुपैयाँ आर्थिक सहयोग गरिएको सहकारीका सचिव श्रेष्ठको भनाइ छ । दिदीबहिनी सहकारीले मुठ्ठीदान अभियानमार्फत आपत्विपद् तथा आर्थिक रुपमा विपन्न परिवारलाई खाद्यान्नलगायत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

यसैबीच ६३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले पनि बेनी अस्पताललाई १२ हजार रुपैयाँको स्यानीटाइजर सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष लिलाराम गौतमले अस्पतालका अध्यक्ष कटुवाल र मेडिकल सुपरीटेन्डेन्ट डा. अधिकारीलाई सामग्री सहयोग गरेका थिए । यसअघि गलेश्वरमा सञ्चालित गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्थाले बेनी अस्पताललाई २५ हजार रुपैयाँ बराबरको सामग्रीहरु सहयोग गरेको थियो ।

Leave a Reply