बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले फागुन महिनाको महसुलमा २० प्रतिशत छुट दिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले गरेको दुईसाता लामो लकडाउनले उपभोक्तामा परेको समस्यालाई मध्यनजर गरी संस्थाले महसुलसँगै फागुन महिनाको बिलम्ब शुल्क समेत मिनाह गरेको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘उपभोक्ताको समस्यालाई मध्यनजर गरी यो निर्णय गरेका छौ,‘खानेपानी नियमित रुपमै आपूर्ती भइरहेको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार लकडाउनका कारण मिटर रिडिङमा समेत समस्या भएकाले आफ्नो मिटरमा चढेको अंक कार्यालयमा टिपाउन समेत अनुरोध गर्नुभएको छ । त्यस्तै संस्था बेनी नगरपालिका वडा नं ७ र ८ मा बसोबास गर्ने विपन्नलाई राहत वितरणमा सहज हुने गरी ५०÷५० हजार नगद सहयोग गरेको छ ।संस्थाले लकडाउनको अवधीमा विद्युतीय सेवा अन्तरगत इसेवा, आईएमई पे मार्फत समेत महसुल भुक्तानी गर्न सकिने जनाएको छ ।म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने १९ हजार जनसंख्यालाई शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोलाबाट प्रति सेकेण्ड २५ लिटर बराहपाखोमा रहेको ३ ओटा इन्टेक,चारवटा आरभिटी र १७० ओटा वितरण च्याम्बर रहेका छन् । लकडाउनको अवधीमा समेत कर्मचारीलाई सुरक्षित तरिकाले पानीको आपुर्तीलाई सहज बनाउने गरी खटाइरहेको संस्थाका सचिव रमेश गिरीले जानकारी दिनुभयो । उहाँले कुनै समस्या परेमा जानकारी गराउन समेत अनुरोध गर्नुभएको छ ।