पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट ग्रसित बनेको अमेरिकाको एक चिनियाखानामा रहेको एक बाघमा पनि कोरोना ‘पोजिटिभ’ पुष्टि भएको पाइएको छ ।

कोरोनाबाट अति प्रभावित अमेरिकी सहर न्यूयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना ‘पोजिटिभ’ भएको पाइएको हो ।आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोनाको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाले आइतबार विज्ञप्ति जारी गर्दै चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको जनाएको छ । ‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’विज्ञप्तिमा भनिएको छ ।

भाइरस संक्रमणका कारण बाघको आहार घटेकोे छ । तर, चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा लेखिएको छ ।

न्यूयोर्कमा कोरोना संक्रमण फैलिएसँगै वन्यजन्तु संरक्षण समाजद्वारा सञ्चालित ब्रोन्ससहति चारवटै चिडियाखाना मार्च १६ बाट बन्द छन् । मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएकाले जनावरको संरक्षणका लागि थप कदम चालिने चिडियाखानाले बताएको छ ।

यता कोरोनाबाट अमेरिका पछिल्लो समय निकै प्रभावित भएको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ३६ हजार ६ सय ७३ जना कोरोनाबाट संक्रमित भएका छन् भने ९ हजार ६ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । साथै १ लाख ७ हजार ९ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

चीनबाट फैलिएको कोरोनाबाट अहिले विश्वको २ सय ८ देश ग्रसित बनेको छ ।विश्वमा १२ लाख ७३ हजार ४ सय ९९ जना कोरोना संक्रमित भएका छन् भने ६९ हजार ४ सय ५१ जनाको मृत्यु भइसकेको छ । साथै २ लाख ६२ हजार ३ सय ५१ जना निको भएका छन् ।