लकडाउनका कारण बिऊमल नपाउँदा कृषकलाई समस्या

0

म्याग्दीमा गहुँ, उवा, तोरी थन्क्याएर खेतबारीमा मकै छर्ने, तरकारी लगाउने र चैतेधान रोप्नुपर्ने समयमा बिऊमल नपाउँदा कृषकहरुलाई समस्या भएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध जारी लकडाउनका कारण कृषिजन्य बिऊमल नपाउँदा कृषकहरु समस्यामा परेका हुन् ।

कोरोना भाइरसका कारण संक्रमणको रोगथामका लागि देशमा जारी लकडाउनले खेतीबालीमा पत्यक्ष असर पारेको छ । कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले समयमा मल ढुवानी गर्न नसक्दा र किसानहरु घर बाहिर निस्कने वातावरण नहुँदा खेतबारीमा लगाइएको बालीनाली बिग्रन थालेको छ ।

यसका साथै वर्षेबाली अन्तर्गतको मकै छर्न र तरकारी खेती लगाउन पनि ढिलाई भएको कृषकहरुले बताएका छन् । लकडाउनका कारण स्थानीय कृषकहरु प्रत्यक्ष मर्कामा परेका छन् । ‘लकडाउनले कृषकहरुलाई समस्या नै समस्या भएको छ’ बेनी नगरपालिका–३, भकिम्लीको अगुवा कृषक मनकुमारी पुनले भन्नुभयो, ‘कोरोना भाइरसका विरुद्ध जारी लकडाउनले गर्दा कृषकहरुले बिउमल र विषादी पाएका छैनौं ।’

व्यावसायिक सुन्तला खेती समेत गर्दै आउनुभएकी कृषक पुनले थप्नुभयो, ‘सुन्तला खेतीका लागि चाहिने आवश्यक विषादी तथा सामग्रीहरु पनि पाइएको छैन ।’ यसैगरी अर्का कृषक बेनपा–२, खबराका चन्द्रबहादुर कार्कीले भने मकै छर्ने समय भैसकेको भए पनि आफूले अहिलेसम्म मकैका लागि चाहिने युरिया मल नपाएको गुनासो गर्नुभयो ।

उहाँका अनुसार वर्षे सिजनमा लगाउने उन्नत जातको मकैको बिऊलगायत कृषि मल र विषादीहरु पाइएको छैन । कृषक पुन र कार्की जस्तै यतिबेला जिल्लाका ६ वटै स्थानीय तहका कृषकहरुलाई खेतबारीमा हाल्न युरिया, पोटास, डिएपि र विषादीलगायत रासायनिक मल तथा बिउबिजनको अभाव भएको छ ।

अहिलेको समयमा मल हाल्न नपाउँदा तरकारी नै नफल्ने हुँदा लगानी जोखिममा पर्ने व्यावसायिक कृषकहरु बताउँछन् ।उता पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको कृषि शाखाले समेत कृषकहरुले वर्षे फलफुलका बेर्ना र मकैको बिऊ माग गरेको भए पनि लकडाउनका कारण खरिद गर्न नसकिएको जनाएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोईरालाले म्याग्दी जिल्लामा युरिया, पोटास, डिएपि मलको अभाव भए पनि लकडाउनका कारण नआएको बताउनुभयो । कोरोनाले गर्दा लकडाउन भएपछि ईन्डियादेखि नै कृषिजन्य बिऊमल खरिद हुन नसकेको बताउँदै कृषकहरुलाई उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ ।

कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।

Leave a Reply