कोरोनाको वहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला

0
F_1 page_2 Baishak.indd

काठमाडौं- कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्।

जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्।  चिकित्सकले यही वैशाख अन्तिम साता सुत्केरी हुने समय तोकेकाले उनीहरु गत बुधबार एम्बुलेन्समा कीर्तिपुरस्थित डेरामा आएर बस्न थालेका थिए।

घरधनी महर्जनले छिमेकीसमेत जम्मा गरी आफूहरूलाई दुव्र्यवहार गर्दै जबरजस्ती कोठाबाट निकालेको शर्माले बताए। ‘कोठामा सेल्फ क्वारेन्टाइनमा बसेका थियौं,’ शर्माले भने, ‘उताबाट आएको दिनदेखि नै घरधनीले कोठाबाट निस्किन दबाब दिएका थिए। घरधनीले आइतबार त दुव्र्यवहार गर्दै निकाले।’

घरधनीले कोरोनाको आशंकामा कोठाबाट निस्कन दबाब दिएपछि शर्माले प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गरेर परीक्षण गराएका थिए। परीक्षणमा तीनैजनाको रिपोर्ट नेगेटिभ आएको थियो।

आफूहरू विदेशबाट नआएको र विदेशबाट आएका मानिससँगको सम्पर्कमा पनि नरहेको जानकारी गराउँदा पनि घरधनीले कोठा छाड्न दबाब दिएको उनले बताए। लडडाउनको समयमा जाजरकोट बस्दा पनि अरु कसैको सम्पर्कमा नगएको उनले बताए।घरधनी महर्जनले उनीहरूलाई कोठाबाट निकालेको स्वीकारे। घरधनीले डेराबाट निस्कन दबाब दिएको गुनासो शर्माबाट आएपछि समस्या सुल्झाउन प्रहरीलाई निर्देशन दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलले बताए।

घरधनीले दुव्र्यवहार गरेपछि घटनास्थल पुगेको प्रहरी पनि स्थानीयका अघि निरीह बनेको थियो। घरधनीले निकालेपछि उनीहरूलाई कीर्तिपुरकै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। स्थानीयले घरमा बस्दा धेरै आशंका गरेपछि कीर्तिपुरकै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको डिएसपी सेतीलाल कामतीले बताए। वास्तविकता नबुझीकन समाजै लागेर कोठाबाट निकाल्नु दुव्र्यवहार भएको भन्दै  अधिकारकर्मीले पनि चिन्ता व्यक्त गरेका छन्। नागरिक दैनिकमा खवर छ ।

Leave a Reply