मूलबाटो हिँड्न नपाएपछि…

0

विन्द उप्रेती बुधबार बिहान बिरामी छोरालाई अघि लगाउँदै २ सय २१ किलोमिटर टाढाको सर्लाहीस्थित घर ताकेर भक्तपुरबाट हिँडेका थिए । साढे ७ किलोमिटर पार गरेपछि नलिन्चोकमा सशस्त्र प्रहरीले उनीहरूलाई रोके । अस्पतालले दिएको डिस्चार्ज कागज देखाए ।

प्रहरीले उनको कुरा सुन्दै सुनेनन्। निन्याउरो अनुहार लगाएर फर्किए। ‘आफन्तकामा जाऔं, खानेकुरा छैन। आफूसँग पनि पैसा छैन,’ बाटामा बिहान ८ बजे भेटिएका गोविन्दले भने। कोभिड १९ को शंका गरेर २१ दिनअघि छोरा रविनलाई एम्बुलेन्समा राखेर गोविन्द काठमाडौं आएका थिए। ज्वरो र खोकी लागेको भन्नेबित्तिकै सर्लाही हरिवनको स्वाभिमान अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो।

उनीहरु सिधै वीर अस्पतल पुगेका थिए। वीरमा भित्रै नछिराई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पताल पठाइदियो। स्वाब परीक्षण भयो। नतिजा नेगेटिभ आयो। ‘त्यसपछि बल्ल छोराको उपचार सुरु भयो। अस्पतालले १४ गते डिस्चार्ज गरिदियो,’ गोविन्दले सुनाए, ‘कोरोना नभएकामा खुसी लागेको थियो तर त्यसपछि कहाँ जाने भन्ने चिन्ता भयो। दुई दिन अस्पतालकै पेटीमा सुत्यौं।’

टेकुबाट हिँडेरै उनीहरु भक्तपुरको सल्लाघारीनजिकै सृजना नगरस्थित गाउँलेको कोठामा आश्रय लिन पुगे। बुधबारदेखि लकडाउन खुल्नेमा उनीहरू आशावादी थिए। तर सरकारले मंगलबार वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गर्‍यो। ज्यामी काम गर्ने आफन्तको कोठामा खानेकुरा र पैसा नभएर आपत् परेको उनीहरुले देखेका थिए। गोविन्दले टाइफाइड र जन्डिस भएका छोरालाई हिँडाउँदै घर लैजाने आँट कसे।

 

चर्को घाममा पसिना पुच्छै कहिले बारीको डिलैडिल, कहिले खेतको गोरेटो बाटोको हुँदै जब नाला पुगिन्, प्रहरी भेटिए। उनले अगाडि बढ्नै पाइनन्। प्रहरीले रोक्नुअघि नै उनीहरुलाई भक्तपुर ताथली सौडोलका बासिन्दाले ह्युमपाइप तेस्र्याएर बाटो अवरुद्ध गरेका छन्। प्रहरी मूलसडकमा तैनाथ छन्। त्यसैले काठमाडौंमा बेर्खची भएकाहरु भित्री बाटो हुँदै अघि बढ्न खोज्छन्। तर नाका–नाकामा प्रहरी हुनाले बीचैबाट फर्कनुपरेको छ।

उदयपुर घर जान खोज्दा मंगलबार जगाती प्रहरीले फर्काएपछि शान्तिमान सुनुवारले बुधबार भित्री बाटोबाट घर खोजेका थिए। तर सफल भएनन्। ‘होटलमा काम गर्दै भाषा पढ्दै थिएँ। लकडाउन लामो नहोला भनेर बसेँ। लम्बिएपछि घर जानुको विकल्प छैन,’ उनले भने।

नुवाकोटबाट सोमबार हिँडेका उदयपुर गाईघाटका ८ जनाको समूह बुधबार ९ बजे भित्री बाटो हुँदै भक्तपुरको ताथली आइपुगेको थियो। ‘प्रहरीको चेकिङ छल्दै यहाँसम्म त आइपुग्यौं,’ बलराम राईले भने, ‘कुन बेला रोकिने हो, थाहा छैन।’ बुधबार अपराह्न भकुण्डेबेंसी पुगेका उनले २५ जनाको समूहमा हिँडिरहेको सुनाए।

भक्तपुरको सिपोडलबाट बर्दियाको राजापुर जान युवाहरु ठेकेदारलाई पैसा मागेर लुगाफाटासहित निस्केका थिए। तर प्रहरीले उनीहरुलाई सल्लाघारीमा रोके। उनीहरुलाई बुधबार बिहान साढे ७ बजे सल्लाघारीमा सडक पेटीमा लस्करै राखिएको थियो। ‘यहाँ बस्न पैसा छैन, घर जान पनि पाइँदैन,’ राजापुरका तीर्थ थारूले भने, ‘अब के गरौं?’

अरनिको राजमार्ग हुँदै साँगातर्फ गइरहेकालाई प्रहरीले चोकचोकबाट काठमाडौं फिर्ता गरिरहेका छन्। भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले लकडाउनलाई कडाइ गर्न हिँडडुलमा समेत रोक लगाइएको बताए। ‘आउजाउ गर्दा जोखिम बढ्ने भएकाले कडाइ गरेका हौं,’ प्रधानले भने। हिँडेर जानेलाई रोक्न साँगामा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मन्त्रालयको निर्देशनअनुसार नै पैदल यात्रीलाई समेत जिल्ला प्रवेशमा रोक लगाइएको बताए। कान्तिपुर दैनिकमा खबर छ

Leave a Reply