पाउद्वार गाउँको शिर (४,६३० मिटर)मा बसेकी खयर भारानी शक्तिपीठ हुन् । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ छ भारानीको थान । धार्मिक आस्थाकी प्रतीक भारानीको दर्शन गरे मनोकामना पुरा हुन्छ । उनलाई भाकेर कसैले छोराछोरी,कसैले धन, कसैले सुख, कसैले सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी त कसैले सेनामा भर्ती हुने वर माग्छन् । माता भारानीले सबैका चाहना पुरा गरिदिन्छिन् ।

भारानी थानमा हरेक वर्ष जनै पूर्णिमामा मेला लाग्छ । भारानीका ९ दिदीबहिनी छन् । जेठी खयर भारानी, माहिली तालवाराही, साहिंली पेरी भारानी, काहिंली मणि भारानी, ठाहिंली गोर्से भारानी, राहिंली ‘काली भारानी’, ठूलीकान्छी श्री भारानी, अन्तरीकान्छी किमोबोटकी भारानी र सानीकान्छी नाकाजी भारानी हुन् ।

खयर क्षेत्र आकर्षक छ । त्यहाँबाट विभिन्न हिमालको दर्शन गर्न सकिन्छ । धौलागिरी र अन्नपूर्ण हिमसृङ्खला नजिकै देखिन्छ । खयरताल किनारामा छ भारानी थान । ताल आफैंमा चित्ताकर्षक छ ।

अचेल यहाँको खोपारा (खोप्रा) पदमार्गमा विदेशी पर्यटक पनि पदयात्रा गर्छन् । बेलाबेलामा पर्यटकलाई लिएर खयर भारानी पुग्ने तन्नेरी पर्यटनकर्मी गगनराज न्यौपाने भन्छन्, ‘खयर क्षेत्रको सौन्दर्यले मोहित तुल्याउँछ । भारानी थान पुग्दा स्वर्गमा पुगेको अनुभूति हुन्छ ।’

खयर क्षेत्रलाई व्यवस्थित बनाउने कामको अगुवाई बेलायती सेनाका रिटायर्ड लाहुरे राजु पुनले गरेका छन् । पाउद्वार गाउँका रैथाने पुनले २०६८ सालदेखि भारानी क्षेत्रमा पदमार्ग सुधार, धर्मशाला निर्माण, थान (मन्दिर) निर्माण लगायतका काम गर्दै आएका छन् ।

उनी ‘खयर भारानी थान तथा संरक्षण कोष’का अध्यक्ष हुन् । विसं २०२७ सालमा बेलायती सेनामा भर्ती भएर २२ वर्ष सेवा गरेका पुनले बेलायतमा आवासीय सुविधा पाएका छन् । तर, पछिल्लो एक दशकमा अधिकांश समय उनले खयर भारानीको सेवामै विताएका छन् ।

उनलाई जीवनसाथी गीता र छोरीहरूले पनि साथ दिएका छन् । उनको काम स्तुत्य छ । अब खोपारामा सामुदायिक होटल चलाएर त्यसको आम्दानी खयर भारानी क्षेत्रको दिगो व्यवस्थापनमा लगाउने उनको चाहना छ ।

एउटा सुझाब: खयर भारानी क्षेत्र घुम्न समाजसेवी राजु पुनलाई ९८५१०६७५४८ सम्पर्क गरेमा थप जानकारी सहयोग पाउन सकिन्छ है !

कसरी पुग्ने: काठमाडौ–बेनी २८२ किमि, बसमा ९ घन्टा । बेनीबाट गलेश्वर, तिप्ल्याङ, पोखरेबगर हुँदै पाउद्वार २८ किमि, जीपमा डेढ घन्टा । पाउद्वारबाट पहिलो दिन ५ घन्टा उकालो चढेर खोपारामा बास । दोस्रो दिन ५ घन्टा पदयात्रामा खयर भारानी थान । Source: barnanmedia.com