विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले आक्रान्त बनाइरहेको वर्तमान अवस्थामा कुनै पनि क्षेत्र अछुतो छैन । खेलकुद क्षेत्रलाई पनि यसले निकै प्रभावित बनाएको छ । सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउनको समयमा सबै खेलाडीहरु प्रायः आफ्नै घर वा कोठामा हुनुहुन्छ । अहिले के गर्दै हुनुहुन्छ, देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउने म्याग्दीका खेलाडीहरु ?

तारादेवी पुन : भारत्तोलन खेलाडी (नेपाल पुलिस क्लब)
वि.सं. २०५८ सालदेखि लगातार नेपालको शक्तिशाली खेलाडीको उपाधि जित्न सफल अन्नपूर्ण गाउँपालिका–७, हिस्तान मथेनीकी तारादेवी पुन अहिले घरमै हुनुहुन्छ । नेपाल प्रहरीको क्लबबाट खेल्ने उहाँले हरेक प्रतियोगितामा आफ्नै रेकर्ड तोड्दै आउनुभएको छ । लामो समयको बन्दका कारण खेलाडीहरु दैनिक प्रशिक्षणमा सहभागी हुन नपाउँदा समस्या हुने उहाँको भनाइ छ ।

२०७७ साल बैशाखमा राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप रोकिँदा तथा ओलम्पिक जस्ता खेलहरु रोकिँदा कोरोना संक्रमणले कुनै पुस्ताका खेलाडी नै हराएर जाने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । विगत १९ वर्षदेखि लगातार प्रशिक्षणमा रहँदै जुनसुकै समय पनि खेल्नका लागि तयारी अवस्थामा रहने गरेको बानी अहिलेको लकडाउनले त्यसलाई ब्रेक गरेको तारादेवी पुनको भनाइ छ ।

अरुणा शाही : (कप्तान) राष्ट्रिय महिला भलिबल टिम
नेपालमा सन् २००८ पछि महिला भलिबल टिम नै थिएन, त्यसपछि सन २०१४ मा राष्ट्रिय टिममा छनौट हुँदा रघुगंगा गाउँपालिका–३, की अरुणा शाही पनि छानिनुभयो । हाल उहाँ राष्ट्रिय महिला भलिबल टिमको कप्तान हुनुहुन्छ । उहाँकै कप्तानीमा महिला भलिबल टिमले राम्रो सफलता हात पारेको छ । भारतसँग कुनै पनि सेट जित्न नसकेको नेपाली महिला टोलीले सागको फाइनलमा २–३ को अन्तरमा पराजित भएको थियो ।

भारतमा भएको १२औं सागमा सोझो सेटमा पराजित हुँदै रजतपदकमा सीमित नेपाली भलिबल टोली १३औं सागमा भने प्रतिस्पर्धात्मक रुपमा भारतलाई कडा चुनौती दिएको थियो । कप्तान शाहीले सन् २०१६ मा भारतमा साग, २०१७ मा माल्दिप्समा सम्पन्न विश्व च्याम्पियन, २०१९ सेन्टरजोन भलिबल प्रतियोगिता, एवं नेपालमै भएको १३औं सागमा सहभागिता जनाउनुभएको थियो ।

अहिले लकडाउनका कारण खेलाडीहरु नियमित प्रशिक्षणमा सहभागी हुन नपाएको भए पनि नियमित फोन सम्पर्कमा रहेको कप्तान शाहीको भनाइ छ । उहाँका अनुसार अहिले खेलाडीहरु सबै प्रायः घरमै रहेको र जोखिमको समय भएकाले सेल्फ एक्ससाइजमै आफूलाई सीमित राखिएको उहाँले बताउनुभयो ।

कमला पुन : राष्ट्रिय भलिबल टिमकी सेटर (नेपाल पुलिस क्लब)
राष्ट्रिय महिला भलिबल खेलाडी टिमकी सेटर कमला पुन अहिले आफ्नो जन्मघर मालिका गाउँपालिका–३, रुममा हुनुहुन्छ । पुलिस क्बलका खेलाडीहरुलाई केही समयको छुट्टी भएकाले प्रायः खेलाडीहरु घरमा छन् । यो समयमा नियमित व्यायाम गर्नका लागि असहज हुँदा खेलको स्तर नै घट्ने सम्भावना हुने उहाँ बताउनुहुन्छ ।

शारिरीक व्यायामले मात्र शरिरलाई चुस्त राख्न नसक्ने भएको हुनाले समग्र खेलाडीलाई नै समस्या हुने उहाँको भनाइ छ । सन् २०१४ देखि नियमित राष्ट्रिय टिमको हिस्सा रहनुभएकी कमलाले राष्ट्रिय टिमबाट आधिकारीक तथा मैत्रीपूर्ण धेरै खेलहरु खेल्नुभएको छ । १२औं र १३औ सागमा पनि कमला महत्वपूर्ण खेलाडीका रुपमा स्थापित हुनुभएको थियो ।

विन्दु पुन : उसु खेलाडी (नेपाल आर्मी क्लब)
सुरुमा फुलकन्ट्याक कराँते खेलबाट सुरु गरी उसु खेल्न थालेको मंगला गाउँपालिका–२, बाबियाचौरकी विन्दु पुन अहिले काठमाडौंको कोठामै हुनुहुन्छ । विन्दुले भारतमा भएको १२औं र नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजतपदक जित्नुभएको थियो ।

उहाँ चीनमा २०१९ मा भएको उसुको विश्व च्याम्पियनसिपमा पनि सहभागी हुनुभयो । उसु खेलाडी विन्दु अहिले आफ्नो कोठामा सेल्फ एक्सरसाइज गर्दै आउनुभएको छ ।