लक्षण नदेखिने संक्रमितले जोखिम

0

बाहिरबाट हेर्दा संक्रमित जस्तो सामान्य लक्षण पनि नदेखिने बिरामीको संख्या बढ्दै जाँदा त्यस्ता बिरामी अझ धेरै भएर पनि परीक्षणको दायरामा नआएको हुन सक्ने आकलन विज्ञहरूले गरेका छन् ।
त्यस्ता व्यक्ति जसमा संक्रमण भएको धेरै समयसम्म सुक्खा खोकी, ज्वरो, बिरामीको कुनै लक्षण नदेखिँदा पनि उनीहरूले संक्रमण सार्न सक्छन् ।

हालसम्म विभिन्न अध्ययन र अवस्थाले ‘कोभिड–१९’ सुषुप्त रूपमा फैलिन सक्ने क्षमता राख्ने समेत उनीहरू औंल्याएका छन् । स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार द्रुत परीक्षण किटबाट हालसम्म करिब १५ जनाको कोभिड–१९ संक्रमणको स्थिति ‘पोजेटिभ’ देखिएको छ तर उक्त किटबाट परीक्षण गरिएकाहरूलाई पुन: पीसीआर जाँच गर्दा तीन जनामा मात्र पोजेटिभ देखिएको हो ।

‘संक्रमित भए पनि लक्षण नदेखिनेहरू यो रोगको शान्त रूपमा विस्तार गर्नेहरू हुन्,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्रमुख प्राडा.सञ्जीवकुमार शर्माले भने, ‘हाल मुलुकमा भएको पीसीआर र द्रुत परीक्षण (एपिट बडी आधारित) किटबाट भएको नमुना परीक्षणको नतिजाले यो कुरालाई प्रस्ट रूपमा औंल्याएको छ ।’

‘हामीकहाँ भर्ना रहेका दुई जना संक्रमितले कुनै पनि प्रकारको अस्वस्थता जस्तो अनुभव नगरेको बताएका छन्,’ पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले कान्तिपुरसँग भने, ‘उहाँहरू दुवै जनाले कोभिड–१९ को मधुरो लक्षण पनि अनुभव गर्नुभएन ।’ यो उदाहरणले गर्दा मुलुकमा लक्षण नदेखिएका कोभिड बिरामी अरू पनि हुन सक्ने सम्भावनामा समेत विशेष पहल र परीक्षण हुनपर्ने आवश्यकता उनी औंल्याउँछन् ।

सेती अञ्चल अस्पतालमा हाल भर्ना रहेका पाँच संक्रमितमध्ये चार जनामा कोभिड–१९ को कुनै पनि लक्षण नदेखिएको (एसिम्प्टोम्याटिक) अस्पतालका डा. शेरबहादुर कमर बताउँछन् । ‘दुबईबाट घर आएकाको पहिलो केसमा मात्र अलि ज्वरो, खोकी र घाँटी दुखेको समस्या देखिएको थियो,’ डा. कमरले भने, ‘बाँकी चार जनामा कुनै पनि प्रकारको बाहिरी अस्वस्थता वा संक्रमित भएको जनाउने लक्षण आदि देखिएन ।’ उनका अनुसार विदेशबाट आएर क्वारेन्टाइनमा बसेको, संक्रमितको निकट सम्बन्ध आदिले गर्दा परीक्षण हुँदा मात्र उनीहरू संक्रमित भएको थाहा पाइएको हो ।

चिकित्सकहरूका अनुसार अत्यन्त सामान्य लक्षण देखिएका दुबईबाट फर्किएका ती व्यक्तिसमेत सामान्य अवस्था (कोभिड–१९ को चर्चा नभएको समय) मा औषधि पसलबाट सोधेर वा घरमै बसेर निको हुने थिए होलान् । ‘दुबईबाट आएका सक्रमितका नातेदार, भारतबाट आएका दुई जना र वीरगन्जमा बस्दै व्यवसाय गरेर घर आएका एक जनामा पनि कोभिड–१९ को कुनै लक्षण बाहिरबाट हेर्दा शंका गर्नुपर्ने प्रकारको देखिएको छैन, प्रयोगशाला परीक्षणले मात्र रोगको पहिचान हुन सकेको हो,’ डा. कमरका अनुसार सुदूरपश्चिममा भारतबाट आएका करिब डेढ लाख जनामा व्यापक परीक्षणको आवश्यकता छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रका अनुसार मुलुकमा सबैभन्दा पहिले देखिएको कोभिड–१९ का केसमा समेत अत्यन्त मधुरो लक्षण (माइल्ड केस) देखिएको थियो । चीनको वुहानबाट फर्किएका ३२ वर्षीय ती युवकमा कुनै खास अस्वस्थता देखिएको थिएन । ‘पहिचानमा नआएका लक्षण नदेखिएका (एसिम्प्टोम्याटिक) वा धेरै मधुरो लक्षण भएका केस मुलुकमा छरिएर रहेको हुन सक्छ,’ डा. मिश्र भन्छन् ।

हालसम्मको विभिन्न अध्ययन र तथ्यांकअनुसार संक्रमण भएका करिब ८० प्रतिशतलाई धेरै कम (माइल्ड) लक्षण वा लक्षण नदेखिएको (एसिम्प्टोम्याटिक) हुन सक्ने समेत डा. सञ्जीव शर्मा बताउँछन्।चिकित्सकहरूका अनुसार कोभिड–१९ को संक्रमणलाई सुषुप्त रूपले विस्तार गर्ने अवस्थालाई तीन समूहमा राख्न सकिन्छ । यसअन्तर्गत ‘एसिम्प्टोम्याटिक’, ‘प्रिसिम्प्टोम्याटिक’ र धेरै मधुरो लक्षण (भेरी माइल्ड सिम्प्टोम्याटिक) भएकाहरू हुन् ।

‘एसिम्प्टोम्याटिक’ भएकाहरूले आफ्नो शरीरमा कोभीड–१९ को सक्रिय भाइरस बोके पनि कुनै लक्षण विकसित गर्दैनन् । यस्ता ‘एसिम्प्टोम्याटिक’ हरू बिरामी भएकाहरूको नजिकको व्यक्ति हुँदा सबैको परीक्षण गर्नुपर्ने स्थितिमा मात्र थाहा हुने गरेका छन् । यस्ता व्यक्ति मुलुकमा परीक्षण धेरै बढी भए मात्र बाहिर आउने गरेका डा. शर्मा औंल्याउँछन् ।

यस्ता संक्रमित व्यक्ति जसको शरीरमा भाइरस प्रवेश गरे पनि लक्षण नदेखिएका अवस्था (इनक्युबेसन पिरियड) मा रहन्छन्, उनीहरूलाई ‘प्रिसिम्प्टोम्याटिक’ भनिन्छ । सामान्यतया संक्रमण भएको ५–६ दिनसम्म लक्षण देखिँदैन । कहिलेकाहीँ त संक्रमण भएको दुई सातासम्म पनि लक्षण नदेखिने हुन सक्छ । प्रिसिम्प्टोम्याटिक अवस्थाका व्यक्तिले निश्चित रूपले भाइरस अरूमा सार्न सक्ने डा. शर्मा औल्याउँछन् ।

‘भेरी माइल्ड सिम्प्टोम्याटिक’ चरणअन्तर्गतका व्यक्ति संक्रमित भए पनि अत्यन्त कम अस्वस्थता अनुभव गर्छन् । आफू बिरामी जस्तो अनुभव नगर्ने हुनाले उनीहरू अन्य व्यक्तिसँग निकट सम्पर्कमा आउने औंल्याउँदै डा. शर्मा भन्छन्, ‘तर हल्का कफ र मध्यम ज्वरो जस्तो लक्षण भएका व्यक्ति प्रारम्भिक अवस्थामा संक्रमण फैलाइरहेका हुन्छन ।’ अत्यन्त मधुरो लक्षण देखिएका व्यक्तिले अन्यलाई कडा रूपमा संक्रमित पार्न सक्छन् ।’

विशेषज्ञहरूले द्रुत परीक्षण किटबाट परीक्षणमा नतिजा पोजेटिभ देखिएकाहरूको समेत कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने औंल्याएका छन् । विदेशबाट आएका, द्रुत परीक्षणबाट पोजेटिभ देखिएकाहरूसँगै उनीहरूको सम्पर्कमा आएकालाई समेत क्वारेन्टाइनमा राखेर संक्रमणको अवस्था हेर्नुपर्छ ।

संक्रमितको संख्‍या ३० पुग्यो

शुक्रबार मात्रै नयाँ १४ थपिएपछि मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला संक्रमित उदयपुर जिल्लामा पाइएका १२ जना छन् भने दुई जना चितवनका छन् । १२ जनामा सबै पुरुष छन् । उनीहरू २२ देखि ४० वर्षसम्मका छन् । चितवनका दुईमा २७ वर्षीय पुरुष र ६३ वर्षीय महिला छन् ।
शुक्रबारसम्म कोभिड–१९ को पीसीआरबाट मुलुकका १३ प्रयोगशालमा ४ सय ४८ नमुनाको परीक्षण गरिएको हो । हालसम्म पीसीआरबाट जम्मा ७ हजार ६ सय ८८ नमुना परीक्षण भएकामा ३० जनामा संक्रमण पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालमा शुक्रबार पीसीआर मेसिन जडान गरिएको छ । शनिबारदेखि परीक्षण थालिनेछ । यसरी अब मुलुकको विभिन्न भागमा गरी १४ वटा केन्द्रबाट पीसीआर परीक्षण भइरहेको छ ।

यस्तै द्रुत परीक्षण किट (आरडीटी) बाट शुक्रबार ४ हजार ३ सय ७३ नमुनाको परीक्षण गरिएको छ । हालसम्म आरडीटीबाट १६ हजार ५ सय ६५ नमुना परीक्षण भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म मुलुकको ७५ जिल्लामा आरडीटीबाट नमुना परीक्षण सुरु भएको छ । सोलुखुम्बु र डोल्पामा मात्र परीक्षण सुरु हुन बाँकी छ । हालसम्म विभिन्न जिल्लामा ७० हजार आरडीटी पठाइएको समेत मन्त्रालयले जनाएको छ ।

शुक्रबार पनि आरडीटीबाट रगतका नमुना जाँच गर्दा पोजेटिभ देखिएकाको घाँटीको र्‍यालको नमुनालाई पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको रिपोर्ट आएको देवकोटाले बताए ।

हालसम्म मुलुकका विभिन्न अस्पतालमा भएका १५ जना संक्रमितको स्वास्थ्य स्थिति सामान्य छ । उदयपुर र चितवनका संक्रमितको अवस्था पनि जटिल नभएको मन्त्रालयले जनाएको छ । यस्तै देशभरिमा शुक्रबार ४ हजार ६ सय ७ जना क्वारेन्टाइनमा छन् भने पाँच जना उपत्यका र ८५ जना उपत्यकाबाहिर गरी जम्मा ९० जना आइसोलेसनमा छन् ।

भारतबट ठूलो संख्यामा सुदूरपश्चिम प्रदेशमा नेपालीहरू आएको औंल्याउँदै मन्त्रालयले त्यहाँ कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आवश्यक दक्ष जनशक्ति पठाइएको जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी/एमएस अध्ययनरत ३४ जना डाक्टरलाई सुदूरपश्चिमका विभिन्न अस्पतालमा काजमा काम गर्न एक महिनाका लागि पठाइएको छ । चिकित्सकहरूलाई शुक्रबार नै हवाईजहाज चार्टर गरेर पठाइएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply