पत्रकारलाई राहत प्याकेजको माग

0

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले कोरोना सङक्रमणको वर्तमान परिस्थितिका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै प्रदेशका क्रियाशिल सञ्चारमाध्यम र पत्रकारहरुको लागि विशेष राहत प्याकेज ल्याउन गण्डकी प्रदेश सरकारलाइ आग्रह गरेको छ ।

महासंघको प्रदेश कमिटिको शनिबार बसेको भर्चुअल बैठकबाट लकडाउनको असहज परिस्थितिमा पनि जोखिम मोलेर सत्य सत्य सूचना, समाचार प्रवाह गराउन जुटेका पत्रकारहरुका लागि राहत प्याकेजको ब्यवस्था मिलाउन माग गरेको हो ।

लकडाउन अवधिबाट प्रभावित पत्रकारहरु लागि पारिश्रमिक भुक्तानीमा कुनै अप्ठ्यारो नगर्न मिडिया सञ्चालकहरुलाई तथा कोरोना रोकथामका लागि सचेतनामुलक अभियानमा स्थानीय सञ्चार माध्यमहरुसंग समन्वय र सहकार्यका लागि प्रदेश सरकार र पालिकाहरुलाई आग्रह गरेको महासचिव गणेश पौडेलले जानकारी दिनुभयो ।

वर्तमान अवस्थामा समाचार सङ्कलन र प्रशारणमा पत्रकारलाई कुनै कठिनाई भए सम्बन्धित जिल्ला शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । बैठकले सो प्रदेशका सञ्चारमाध्यम र पत्रकारको अवस्थाका बारेमा विश्लेषण गर्दै सबै पत्रकारहरुलाई धैर्य र सुरक्षित तवरले समाचार सङ्कलन गर्न आग्रह गरेको छ ।

समितिले कोरोनाको नियन्त्रणमा पत्रकारहरुको विशेष भूमिका हुने हुँदा सत्य तथ्य र विश्वसनीय समाचार प्रवाह गर्न समेत सबैलाई अपिल गरेको छ । उक्त बैठकले पत्रकारका निम्ति आवश्यक सुरक्षा उपकरण उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गर्दै कोरोनाको नियन्त्रणमा अहोरात्र खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुलाई समेत आभार प्रकट गरेको छ ।

पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका अध्यक्ष त्रिभुवन पौडेलले वर्तमान परिस्थितिले गर्दा समितिले प्रविधिको प्रयोग गर्दै अनलाइन (भर्चुअल)बैठकबाट समसामयिक विषयमा छलफल गरी निर्णय गरेको जानकारी दिनुभयो ।

Leave a Reply